क्यानडाको कम्पनीले किन्ने भयो बुद्ध एयरको पुरानो जहाज


काठमाडौ । बुद्ध एयरको पुरानो जहाज क्यानडाको स्कामइलिंक कम्पनीले किन्ने भएको छ । बुद्ध एयरको पहिलो उडान भरेको जहाज क्यानडाको स्काइलिंक कम्पनीले किन्न लागेको हो । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले पहिलो उडान गरेको १९ सिट क्षमताको दुईवटा बिचक्राफ्ट ’बी १९०० डी’ जहाज बेच्न लागेको बताए ।

कम्पनीका अनुसार २५ वर्ष अगाडी ४.५ मिलियन डलरमा खरिद गरेको थियो । जतिबेला एक डलर बराबर नेपाली ६० रुपैँया थियाे । कम्पनीले बिचक्राफ्ट ’बी १९०० डी’ नयाँ खरिद गरेको थियो । कम्पनीले विमान खरिद गरेको लामो समयपछि मर्मत सम्भार र व्यवस्थापनको लागत बढि लाग्ने भएकोले बिक्रि गर्न लागेको जनाएको छ । बस्नेतले जहाजको उडान र अवतरणको आधारमा मर्मत गर्नुपर्ने बताए ।

उनले भने,“जहाज पुरानो हुँदैन । जहाजको कति घण्टा उड्छ र कतिपटक अवतरण भयो त्यसको आधारमा मर्मत गरिरहनुपर्छ । मर्मत गरेर नै हाम्रो जहाज २५ वर्षपछि क्यानडाको कम्पनीले खरिद गर्न लागेको हो । हामीले समयमा मर्मत नगरेको भए क्यानडाको कम्पनीले किन खरिद गथ्र्यो होला ।”

कम्पनीका अनुसार बुद्ध एयरले तीनओटा नयाँ एटीआर जहाज थप्ने भएको छ । बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर–७२ र ३ वटा एटीआर–४२ जहाज रहेको छ ।