‘सरकारले उपेक्षा गरेकोले सबै उद्यमी व्यवसायी एकजुट भएर अगाडी बढ्नुपर्छ’


काठमाडौं । साना तथा मझौला व्यवसायलाई सरकारले उपेक्षा गरेकोले सबै उद्यमी व्यवसायी एकजुट भएर अगाडी बढ्नुपर्ने साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष दीपकप्रसाद आचार्यले बताएका छन् ।

बर्षौंदेखि साना तथा मझौला व्यवसाय गर्दै आएका व्यवसायीहरू धेरै किसिमको झमेलामा उनले बताए। मुलुकको जनशक्तिलाई कृषि क्षेत्रले मात्र ग्रहण गर्न नसक्ने हुँदा स्थानीय स्तरमै स–साना व्यवसाय खोली रोजगारी प्रवर्द्धन गर्नु जरुरी उनले जानकारी दिए ।

देशको कुल व्यवसायको करिब ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्याहरू समाधान गर्न नसकेको व्यवसायीहरुले गुनासो गरेका छन्।

आचार्यका अनुसार स्थानीय श्रम, सिप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सके त्यस्ता व्यवसाय टिकाउ हुन सक्छन् । बाहिरबाट आयातित सीप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा हाम्रा परम्परागत कला, संस्कृति र सीपअनुरूपका व्यवसायमा आय तथा रोजगारीको सम्भावना बढिरहेको तर यसलाइ प्रवर्ध्दन गर्न नसकेको उनले गुनासो गरे।

निर्यात परिषद् नेपालका अध्यक्ष साथै गण्डकी प्रदेश साना तथा मझौला उद्योग महासंघका गण्डकी प्रदेश प्रमुख रेशमबहादुर पोखरेलले हामी धेरै वर्षदेखि निर्यात क्षेत्रमा लागे पनि यस क्षेत्रका व्यापारी व्यवसायीका लागि सरकारले केही गर्न नसकेको बताए। उनले व्यवसायीहरुलाई उद्योग दर्ता गर्नदेखि लिएर उत्पादन गरी बजारसम्म लैजान धेरै समस्या रहेको गुनासो गरे ।

साना तथा मझौला व्यवसायी महासंघका महासचिव डा.गोपालप्रसाद तिवारीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकोले निजी क्षेत्र र सरकारले संयुक्त रुपमा अघि बढ्नुपर्ने सुझाव दिए ।

डा. तिवारीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकोले निजी क्षेत्र र सरकार संयुक्तरुपमा अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् । उनले अहिले धेरै युवाहरू केही उद्योग गरौं भनेर इच्छा जाहेर गरिरहेको अवस्थामा महासंघले त्यस्तो वर्गलाई समेटी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।