वेद मानवरचित नभइ दैविकदेन हाे: अध्यक्ष ओली


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताए । उनले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे।

दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभइ कर्तव्यका रुपमा पूरा गर्न आग्रह गरे। 

“हामी बिस्तारै बिस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो । मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो । हिसाव गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौँ, “उनले भने, “परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले । तर ज्ञानकाे माैलिक श्रोत मानवका इन्द्रियहरु नै हुन् । अाधुनिक पछिल्लाे विज्ञान र प्रविधिको प्रयोग गरौँ, अत्याधिक रुपमा तर उपचार पद्धतिमात्रै होइन जीवनपद्धतिकै रुपमा प्रयोग गरौँ । हामीले उपचारको कुरा ड्युटी झैँ होइन कर्तव्य झै गरेर पूरा गरौँ, यी दुई फरक कुराहरु हुन् ।”

अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविकदेन भएको बताए । उनले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको बताएका छन्। अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताए ।

उनले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको उल्लेख गरे । अध्यक्ष ओलीले आयुर्वेदले मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिने नभइ जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्नेकुरा सिकाउने बताए । 

“केही चिजहरु यस्ता छन्, जसलाई अपौरुषिय अथवा मानव निर्मित होइन भन्ने शास्त्रहरुले वर्णन गरेका छन् । वेद मानव रचित होइन, दैवीदेन हो भन्ने छ । कसले लेखेको भन्ने थाहा छैन । वेदका ऋचाहरु पछिल्लो समय कसले बनायो भन्न सकिन्छ, पछिल्लो समय बनेका कतिपय ऋचाहरु छन्, त्यसभन्दा अघिका ऋचाहरुको बारेमा जानकारी छैन, त्यसैले वेदलाई दैविक भनिन्छ ।आयुर्वेदलाई पनि पछि ऋषिहरुले निर्माण गरेको तर यो पनि पौरुषिय होइन अलौकिक हो भन्ने गरिन्छ । यस्ता शास्त्रका उक्तिहरु छन् । यसले हाम्रो पौराणिकतालाई जनाउँछ । जे होस् हामी आयुर्वेदसम्बन्धी मान्यताका साथीहरुलाई थाहा छ, पुराणशास्त्रीय मान्यताका दुई शाखाहरु छन् ,” उनले भने, “एउटा शैव शाखा, शिवले आयुर्वेद सम्बन्धी ज्ञान पार्वतीलाई, पार्वतीले नन्दी, नन्दीले अर्कोलाई हस्तान्तरण गर्नुभएको थियो ।अर्को मानव श्रृष्टिअघि बाच्ने कसरी हो ? भन्ने हिसावले आयुर्वेद तयार गरेर मात्रै जीवको रचना गरेको भन्ने छ । वेद भनेको विज्ञान हो, आयुर्वेद भनेको जीवन, आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान हो । जीवन आयुसँग सम्बिन्धत छ । मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिँदैन, आयुर्वेदले जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्ने हो ।”

अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परेपनि अब बढ्ने समय आइरहेको बताए। उनले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताएका छन्।