राष्ट्रिय योजनामा सुनचाँदीका बिषय समावेश गर्न आग्रह


काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका बिषय समावेश गर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधीमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठसँग भेटगरी सुनचाँदीका बिषयलाई मुलुकको पञ्चवर्षिय योजनामा समावेस गर्न आग्रह गरेको हो ।

भेटका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले नेपाल सुनचाँदी व्यवसायी महासंघले अगाडि सारेका सुनको उत्खनन, निकासी–पैठारी, ओसारपसार, कालिगढको व्यवस्थापन र तालिम लगायतका बिषयलाई सम्वोधन गर्न आयोगले आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी व्यवसायमा परेको समस्या र तीनको समाधानका बिषयमा आफ्नो धारणा राखेका थिए । उनले सुनको कारोबारका क्रममा नीतिको अभाव भएको उल्लेख गर्दै यसतर्फ आवश्यक पहल गर्न समेत उपाध्यक्ष श्रेष्ठलाई आग्रह गरेका छन् । सुुनचाँदीको बिषयलाई मुलुकको योजनामा समबेस गर्न सके यसवाट राज्य र व्यवसायी सवैलाइ फाइदा हुने उनले बताए ।