‘क्यान इन्फोटेक २०२३’ को तयारी अन्तिम चरणमा, ३ लाखले अवलोकन गर्ने अपेक्षा


काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले २८ औंं संस्करणको क्यान इन्फोटेक माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । महासंघले बिहीवार पत्रकार सम्मेलन गरी क्यान इन्फोटेक २०२३ माघ २३ गतेबाट २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने जनाएको छ ।

महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ ।

क्यानका अध्यक्ष रञ्जित कुमार पोद्धारले यस पटक इन्फोटेकको प्रवेशको लागि विद्यार्थीहरुका लागि ५० रुपैँया र सर्वसाधारणको लागि १०० निर्धारण गरेको बताए । अघिल्लो पटकको इन्फोटेकमा आइएमई पेले स्पोन्सर गरेको कारण प्रवेशको लागि पैसा नलागेको बताए । उनले भने,” गत वर्ष वर्ष भएको मेलामा आइएमई पेले स्पोन्सर गरेको थियो । आइएमई पेले टिकटको मुल्य १ रुपैँया राखेको थियो । अहिले हामीले सर्वसाधारणको लागि १०० रुपैँया र विद्यार्थीको लागि ५० रुपैँया निर्धारण गरेको छौं । पहिला पनि प्रवेशको लागि टिकट लाग्ने गरेको थियो ।”

अध्यक्ष पोद्दारले सुचना प्रविधि नेपालभर पुर्याउनको लागि इन्फोटेक सु्रु गरेको बताए ।

क्यान महासंघका महासचिव चिरञ्जीवि अधिकारीले प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने बताइएको छ ।

यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ।

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने महासंघले जनाएको छ । महासंघका अनुसार क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन छ ।

महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिव साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ । प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुगने विश्वास राखेको छ । काठमाडौंमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने जनाइएको छ।

महासंघका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३०, वागमती प्रदेशमा चैत्र २ देखि चैत्र ६ र प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुनेछ ।

महासंघले सन् १९९५ देखि क्यान इन्फोटेक गर्दै आइरहेको छ ।