युवा ज्योतिषी दिवाकर पन्तको ‘दिव्य वास्तु विज्ञान’ पुस्तक बजारमा


काठमाण्डौँ । युवा ज्योतिषी गुरु दिवाकर पन्तको दिव्य वास्तु विज्ञान’ पुस्तक बजारमा आएको छ । पुस्तकलाई गुडविल प्रकाशनले प्रकाशन गरि बजारमा ल्याएको हो ।

ज्योतिषी गुरु पन्तको यो दोस्रो पुस्तक हो । यसअघि उहाँको ‘दिव्य ज्योतिष विज्ञान’ नामक पुस्तक बजारमा आएको थियो ।
पुस्तकमा वास्तु क्षेत्रअन्तर्गतका विभिन्न विषयहरु पुस्तकमा विस्तृत रुपमा समावेश गरिएको लेखक पन्तले जानकारी दिए ।
उनले पुस्तकमा भूमि, संरचना निर्माण, दैनिक जीवनमा वास्तुसम्बन्धी आवश्यक पर्ने विषयहरु तथा विस्तृत रुपमा अनुसन्धान समेत समावेश गरिएको बताए ।

यस पुस्तकमा वास्तुका विविध आयामलाई शुक्ष्म तरीकाले सामाग्रीका रुपमा समावेश गरिएको लेखक पन्तको भनाई छ । नेपाली भाषामा आधिकारिक र विस्तृत वास्तु विषय समावेश गरी एक पुस्तक तयार पार्ने उद्देश्यले यस पुस्तक बजारमा ल्याइएको उनको भनाई छ ।

“निरन्तर पाँच बर्षसम्मको मिहिनेतबाट यो पुस्तक तयार भएको छ”, लेखक पन्तले भने, “विभिन्न वैदिक तथा ओमकार परिवारका धार्मिक साहित्यमा रहेका वास्तुबारेमा जानकारीसहित पुस्तकमा नेपाली दृष्टिकोणका वास्तु धरोहरलाई पनि समाविष्ट गरिएको छ ।”

पुस्तकमा नेपाली वास्तु मौलिकतालाई विविध आयाममा समावेश गरिएको छ । लेखक ज्योतिषी गुरु पन्तले यसअघि नेपाली मौलिक वास्तुका विषयमा त्यत्ति जोड दिने नभई वैदिक साहित्यमा समावेश भएका वास्तुका सैद्धान्तिक पक्षलाई मात्र जोड हुने गरेकोमा यस पुस्तकमा वास्तुका सैद्धान्तिक सार्वभौमिक सिद्धान्तसहित नेपाली मौलिकताको पाटोलाई पनि उजागर गरिएको बताए ।

पुस्तक काठमाडौँ उपत्यकाका प्रमुख प्रमुख धार्मिक पुस्तक पाइने पसलहरुमा उपलब्ध गराइएको छ । केही साता भित्रमा काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहरहरुमा पुस्तकको वितरण हुने गुडविल प्रकाशनले जनाएको छ । पुस्तकको भाषा सम्पादन संस्कृत भाषाका ज्ञाता तिलकप्रसाद लुइटेलले गरेका हुन् ।

पुस्तकमा हिमाली, पहाडी तथा तराई–मधेश क्षेत्रमा सदियौँदेखि रहेका वास्तुका विविध परम्परागत अभ्यासका बारेमा समेत बेग्लै शीर्षकमा चर्चा गरिएको छ । साथै वास्तु विषयमा गरिएको विस्तृत गहन अनुसन्धान समेत बेग्लै खण्डमा विशेष रुपमा समावेश गरिएको पन्तले बताए ।

लेखक पन्तले देशमा नै पहिलो पटक आधुनिक अनुसन्धान पद्दतिबाट वास्तु विषयमा सम्भवत पहिलो पटक विस्तृत रुपमा अनुसन्धान गरिएको बताए । पुस्तकमा विभिन्न सात वटा ‘मामिला अध्ययन’ अर्थात ‘केस स्टडी’ पद्दतिबाट गरिएको अनुसन्धान समावेश गरिएको पन्तले जानकारी दिए । ‘व्यावहारिक जीवनमा वास्तुदोष, परिणाम, उपाय र नतिजा’ शीर्षकमा यो अध्ययन गरिएको छ ।

नौ खण्डमा विभक्त पुस्तकमा खण्ड एकमा वास्तु परिचय शीर्षकमा विविध उपशीर्षक सहित जानकारी समावेश गरिएको छ । खण्ड दुईमा नेपालमा वास्तु शीर्षकमा सामग्रीहरु रहेका छन् । त्यसैगरी खण्ड तीनमा भूमि र वास्तु, खण्ड चारमा वास्तु र गृह, खण्ड पाँचमा वास्तु विविध, खण्ड ६ मा वर्तमान सन्दर्भमा वास्तु शीर्षकमा सामग्रीहरु समावेश गरिएका छन् । त्यसैगरी खण्ड सातमा व्यावहारिक जीवनमा वास्तु दोष, परिणाम, उपाय र नतिजा विषयमा अनुसन्धान समावेश छ । खण्ड आठमा वास्तुसम्बन्धी विविध जानकारी समावेश छ भने खण्ड नौमा परिशिष्ट शीर्षकमा लेखकका विषयमा जानकारीदेखि सन्दर्भ सामग्रीहरु राखिएका छन् ।

नेपाली भाषामा वास्तु विषयमा यस्तो वृहद् पुस्तक पहिलो पटक प्रकाशित भएको गुडविल प्रकाशनका कार्यकारी निर्देशक शिवसागर शर्माले बताए । यस क्षेत्रमा रुचि राख्ने जो कोहीका लागि पनि पुस्तक लाभदायी रहने उनको भनाई छ । उनले यस पुस्तक छिट्टै देशभर वितरण गरि पाठक समक्ष उपलब्ध गराइने पनि जानकारी दिए । पुस्तकको सामग्रीको गहनतालाई ध्यान दिएर नेपाली पाठकलाई कम भन्दा कम मूल्यमा पुस्तक उपलब्ध गराउने उद्देश्यले ३ सय २२ पृष्ठको यस पुस्तकलाई ५ सय ९० रुपैयाँमा उपलब्ध गराइएको उनले बताए ।