लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबिच मर्जरमा जान अन्तिम सम्झौता


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रमकाबिच लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ ।

मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । त्यसै गरी दुवै कम्पनीका बिच भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्ट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को शेयर आदान प्रदान अनुपात क्रमश १०० : ८० कायम रहनेछ ।

साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पंूजी रु.२ अर्ब ६२ करोड २६ लाख ३८ हजार १ सय ९५ कायम रहनेछ ।

त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।