पूर्वाधार क्षेत्रमा भ्रष्टाचार निरुपण गर्ने उपाय खोज्न कार्यदल गठन


काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् । उपप्राधानमन्त्री श्रेष्ठले प्रा. डा. राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा ६ सदस्यिय कार्यदल गठन गरेका हुन् ।

कार्यदलले पूर्वाधार तथा यातायत क्षेत्रमा भ्रष्टाचार जन्य काम निरुपण गर्ने उपाय खोजेर ३० दिनभित्र मन्त्री कहाँ प्रतिवेदन पेश गर्ने छ । कार्यदलमा पूर्वसचिवहरु पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा र हरि वस्याल, डा. लिना गुरुङ तथा सदस्य सचिवका रुपमा अर्जुन प्रसाद अर्याल छन् ।

कार्यदलको प्रतिवेदनमा मन्त्रालयमातहतका सडक पूर्वाधार, पुल, रेलवे सेवा, यातायत क्षेत्र व्यवस्थापन, इन्जिनियरिङ सेवा व्यवस्थापनसमेतका क्षेत्रको सेवा प्रवाहलाई चुस्त दुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी र सुशासनमैत्री बनाउनका लागि सुझावसहित उल्लेख हुनेछ ।

समितिले मन्त्रालयको कार्यजिम्मेवारी सम्बन्धित विषयमा सुशासन प्रबद्र्धन गर्न सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रकृयागत र संस्थागत विषयमा सुझाव पेश गर्नेछ । यसैगरी भौतिक पूर्वाधार क्षेत्रमा सुशासन प्रबद्र्धन गर्न आवश्यक देखिएकाले सो सम्बन्धमा सुझाव पेश गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

समितिले रेलवे सेवा सञ्चालन र व्यवस्थापनको क्षेत्रमा सुशासन कायम गर्नुपर्ने सुधारका विषय पनि प्रतिवेदनमा समेट्नेछ । यसैगरी यातायात व्यवस्थापनमा सुशासन प्रबद्र्धन गर्न तथा तथा इन्जिनियरिङ काउन्सिलबाट प्रदान गरिने सेवामा आम सेवाग्राहीलाई सरल, सहज, सेवा प्रदान गर्ने सुधारका विषय उल्लेख गर्नेछ ।

अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले मन्त्रालयको कार्य जिम्मेवारीसँग सम्बन्धित समग्र क्षेत्रमा अनियसमितता, चुहावट, मिलेमतो जस्ता भ्रष्टाचार जन्य कार्यमा पूर्ण नियन्त्रणकारी कार्य गर्न अवलम्बन गर्नुपर्ने नीतिगत कार्य प्रक्रियागत संस्थागत सुधारका विषय अध्ययन विश्लेषण गरी सुझाव सहितका प्रतिवेदन ३० दिनभित्र उपप्रधानमन्त्री समक्ष पेश गर्नेछ ।