सरकारी वालेट विश्वास जाेगाउन सकस


नमस्ते पेमा ४० वटा बैंक तथा वित्तीय संस्था जोडिएको भनिए पनि अझैसम्म निजी क्षेत्रका प्रमुख बैंकबाट पैसा ‘लोड’ गर्न मिल्दैन भने विशेष सुविधा र प्याकेज थप नगरेका कारण यो निजी डिजिटल भुक्तानी जस्तो चलायमान हुन सकेको छैन ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमले २०७६ वैशाख २९ गते डिजिटल भुक्तानी गेटवे सञ्चालनका लागि समझदारी पत्र हस्ताक्षर गरे । यो सम्झौतासँगै नेपालकै ठूला बैंकमध्येको एक वाणिज्य बैैंक र नेपालकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीले साझेदारीमा डिजिटल पेमेन्ट गेट वे ल्याउने घोषणा गरे । 

नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत लगानी भएको नमस्ते पेमा कुल ४१ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । 

समझदारी पत्रमा हस्ताक्षर भएको एक वर्षमा नै सञ्चालनमा ल्याइने भने पनि तोकिएको अवधिभित्र खासै काम हुने सकेन । ढिलागरी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले सञ्चालन गरेको नमस्ते पे वालेट २०७८ भदौदेखि सञ्चालनमा आयो । ढिलै आए पनि सरकारीस्तरबाट सञ्चालनमा ल्याइएको डिजिटल वालेट सेवा सार्वजनिक भएको खबरले उपभोक्ता पनि उत्साहित देखिएका थिए । 

सुरुवातमै समस्या 

नमस्ते पेको एप धमाधम डाउनलोड गर्न थालियो । तर, नमस्ते पेलाई पहिलो गासमै ढुँगा लागेको भनेझैं भयो । डाउनलोड हुने तर एप नखुल्ने जस्ता समस्याले सेवा सुरुवातसँगै उपभोक्ताको गालीको सामना गर्नुपर्‍यो । सञ्चालनमा आएकै दिन विभिन्न समस्या देखिएपछि थप सुधार भइरहेकाले केही दिन लाग्ने भन्दै कम्पनीले टार्‍यो । तर यो केही दिनको गति भने सुस्त देखियो । सरकारी काम कछुवाको गतिजस्तै भन्ने यसले पनि पुष्टि गरेरै छाड्यो ।

नेपालमा निजी क्षेत्रबाट सुरुवात गरिएको लामो समयपछि र राष्ट्र बैंकले नीति बनाएको चार वर्षपछि सरकारले आफ्नै वालेट ल्याएको थियो । तर सुरुवातबाट नै समस्यामा जेलियो । सरकारले डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्ने नीति लिएको छ । 

सरकारीस्तरबाट पछि मात्र सुरु गरिए पनि अढाइ दर्जन निजी कम्पनीले भने डिजिटल वालेट व्यवस्थित तरिकाले सञ्चालन गरिरहेका छन् । तिनले चर्को प्रतिस्पर्धाका बीच उपभोक्ताको मन जित्न अथक मेहनत गरिरहेका छन् । तर कम मेहनतले उपभोक्ताको मन जित्ने अवसरलाई सरकारी कम्पनीले भने ‘क्यास’ गर्न सकिरहेको छैन ।

नमस्ते पेमा ४० वटा बैंक तथा वित्तीय संस्था जोडिएको भनिए पनि अझैसम्म निजी क्षेत्रका प्रमुख बैंकबाट पैसा ‘लोड’ गर्न मिल्दैन भने विशेष सुविधा र प्याकेज थप नगरेका कारण यो निजी डिजिटल भुक्तानी जस्तो चलायमान हुन सकेको छैन । 

समयमा सेवामा तीव्रता दिन नसक्दा थपिन चाहने बैंक तथा वित्तीय संस्था र सेवाग्राही अलमलमा परेका देखिन्छन् । दूरसञ्चार सेवाबाट सन्तुष्ट रहेका उपभोक्ताको नेपाल टेलिकमको लगानी रहेको कम्पनीबाट सोही तवरको अपेक्षामा रहेको तर सुविधा नपाउँदा निराश बनेको गुनासो बढ्दो छ । 

निजी खरायो गतिमा, सरकारी कछुवा

नमस्ते पेमार्फत् मोबाइल रिचार्ज, बिजुलीको बिल र पानीको बिलमात्र तिर्न सकिने सुविधा छ । सुरुको दिनमा जुनजुन सेवा दिएको थियो, ६ महिनाको अवधिसम्म कुनै पनि सेवा थप गर्न सकेको छैन । यहाँसम्म कि टेलिकमकै अन्य अतिरिक्त सेवा लिन यो एपबाट भुक्तानी गर्न सकिँदैन । 

निजी डिजिटल भुक्तानी कम्पनीहरूले विभिन्न सेवा र छुटहरू दिएर सेवा दिइरहँदा यसको भने कुनै पनि आकर्षक प्याकेज नै दिएको छैन । निजी डिजिटल भुक्तानी कम्पनीहरूले विभिन्न सेवा र अफर दिइरहँदा नमस्ते पे भने सुस्त देखिएको छ । 

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न उत्रिएको सरकारी लगानीको वालेट नमस्ते पेको चर्चा कममात्रै भइरहेकाले यो पनि टेलिकमको सामाजिक सञ्जाल भनिएको ‘मिट’जस्तै हुने हो कि भन्ने आशंका बढेको छ ।

कागजी नोटको प्रयोग हटाउने र डिजिटल भुक्तानी बढाउने उद्देश्यले नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक सहकार्य गरेर यसमा होमिएका थिए । बिनाइन्टरनेट सिधै मोबाइल नम्बरबाट पनि रकम पठाउन र पाउन सकिने भएकाले यसको प्रयोगकर्ता बढ्ने अपेक्षा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले गरेका थिए । तर टेलिकमले अनुमान गरेअनुसार हुन सकेन । 

सरकारले डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने भने पनि सरकारी वालेटले त्यो नीतिलाई सघाउ पुर्‍याउने सम्भावना कम बन्दै गएको छ । सुरुवातमा विभिन्न ठूला कुरा गरेर अगाडि बढाउन कोसिस गरे पनि कुरा अनुसारको काम नहुँदा समस्या देखिएको जानकारहरू बताउँछन् । 

फरक सेवा, निरन्तरतामा ढिलासुस्ती

नमस्ते पेले केही फरक सुविधा पनि दिने घोषणा गरेको छ । प्रयोगकर्ताले इन्टरनेट नहुँदा पनि ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डेटा’ (यूूएसएसडी) अर्थात् कम्पनीले उपलब्ध गराएका कोड नम्बर प्रयोग गरेर रकम आदानप्रदान गर्न सक्ने बताएको छ । यो सेवा नेपालमा पहिलो पटक नमस्ते पेले नै ल्याएको हो, जसको माध्यमबाट सिधै बैंकमा जोडेर त्यसमार्फत् रिचार्ज, बिजुलीको बिल भुक्तानी र पानीको बिल भुक्तानी गर्न सकिन्छ । 

नमस्ते पेको यो सेवा ग्रामीण क्षेत्रका लागि बढी लाभदायक हुने देखिए पनि यसको प्रचारप्रसार र राष्ट्रियस्तरमा कुनै चर्चा हुन सकेको छैन । नयाँ तरिकाबाट भुक्तानी गर्न सकिने बनाए पनि प्रचारप्रसार गर्न नसक्दा र सेवा सुविधा थप गर्न नसक्दा यसका प्रयोगकर्ता नै नबढेका हुन् । 

नमस्ते पेले अर्को सुविधा ‘वालेट टु वालेट फन्ड ट्रान्सफर’ पनि दिएको छ । यसको नीति राष्ट्र बैंकले भर्खरै मात्र ल्याएको भए पनि नमस्ते पे सञ्चालन गर्दाको सुरुको दिनदेखि नै ल्याइसकेको थियो ।

एउटा विधिअनुसार डिजिटल वालेटबाट अर्को डिजिटल वालेटमा रकम पठाउन सकिन्थ्यो । यो नौलो सेवा दिइराखेको थियो नमस्ते पेले । यद्यपि, निजी क्षेत्रका वालेटले बजारमा धेरै क्षेत्रको सेवा सुविधा दिइरहँदा नमस्ते पे रिचार्जमा अल्झिएर बसेको छ । 

डिजिटल भुक्तानी भनेको रिचार्जमात्र गर्नु होइन । नमस्ते पेले रिचार्जमा क्यास ब्याक भनेरमात्र प्रचार गरिरहेको छ । यसले गरेको प्रचार देख्दा टेलिकमले विदेशबाट गर्ने रिचार्ज कार्ड गर्ने आयात प्रतिस्थापन गर्नका लागि मात्र ४१ करोड रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएको जस्तो देखिन्छ । नमस्ते पेमा वालेटमा पैसा लोड गर्ने सेवा थप गरेको छ । तर कहाँ कहाँ तिर्न सकिन्छ भनेर सेवा थप गर्न भने सकेको छैन ।

बिनाइन्टरनेट सीधै मोबाइल नम्बरबाट पनि रकम पठाउन र पाउन सकिने भएकोले यसको प्रयोगकर्ता बढ्ने  अपेक्षा नेपाल ६ेलिकम र राष्ट्रय वाणिज्य बैंकले गरेका थिए तर टेलिकमले अनुमान गरे अनुसार हुन सकेन।

६ महिना पछिका काम 

सेवा सञ्चालनमा आएको ६ महिनापछि भने केही सेवा थप गरेको छ । पछिल्लो समय नमस्ते पेले एनसेल प्रयोगकर्ताले समेत चलाउन मिल्ने बनाएको छ । २०७८ फागुनदेखि एनसेलका प्रयोगकर्ताले पनि यसको प्रयोग गर्न पाउने भएका हुन् । यो भन्दा अगाडि नेपाल टेलिकमको नम्बर प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्थे । अब केही समयपछि स्मार्टसेलका प्रयोगकर्ताले सञ्चालन गर्न सकिने एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले बताएका छन् । 

एनडीपीसीले सञ्चालनमा आएको करिब ६ महिनापछि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् नमस्ते पे वालेट र नेपाल क्लियरिङ हाउस लिमिटेडको नेसनल पेमेन्ट स्वीचमा जोडिएको छ । पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल क्यूआर स्ट्यान्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टर नेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट टू पे टाइफ ई म्यान्डेटका उपकरण आफ्ना ग्राहकलाई प्रदान गर्ने भण्डारीले बताए । 

बितेको ६ महिनामा अर्को सेवा डेबिट कार्ड र क्रेडिट कार्डबाट पनि यसमा पैसा लोड गर्न सकिने बनाएको छ । कम्पनीले पैसा लोड गर्ने सेवामात्र थप्दै गएको छ । आलोचना हुन थालेपछि एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत भण्डारी यस विषयमा बोल्न छाडेका छन् । सुरुका दिनमा २० प्रतिशत सेयर सर्वसाधारणलाई दिने भन्दै हिँडेका भण्डारी अहिले भने चुपचाप छन् । उनी फोन नउठाउने हाकिमका रूपमा चिनिने गरेका छन् । पत्रकारले राखेको जिज्ञासामा कुनै पनि कुरामा बोल्न चाहँदैनन् भण्डारी । 

मोबाइल वालेटका प्रयोगकर्ता र कारोबार 

राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल वालेट प्रयोगकर्ता एक करोड सात लाख ११ हजार ८९ रहेका छन् । यो तथ्यांक चालू आर्थिक वर्षको पुससम्मको हो । चालू आर्थिक वर्षकै मंसिरमा मोबाइल वालेटको प्रयोगकर्ता एक करोड ४ लाख १९ हजार ६ सय ७८ जना रहेका थिए । राष्ट्र बैंकको तथ्यांकले पनि मोबाइल वालेट प्रयोगकर्ता दिनदिनै बढिरहेको देखाउँछ । 

चालू आर्थिक वर्षको पुस महिनामा मोबाइल वालेटबाट एक करोड ३७ लाख १२ हजार २ सय ६ पटकमा १६ अर्ब २७ करोड ६० लाख रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । मंसिर महिनामा एक करोड ३० लाख ८८ हजार ५ सय ४३ पटकमा १५ अर्ब ५२ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । 

अबको बाटो, सुरक्षित डिजिटल भुक्तानी

कोभिड महामारीपछि डिजिटल भुक्तानी बढेको छ । कोभिड–१९ भन्दा अगाडि केही मात्रामा प्रयोग भए पनि कोभिड महामारीपछि डिजिटल पेमेन्ट गेटवेका प्रयोगकर्ता बढेका थिए । पछिल्लो समय नेपालमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी पनि दिनप्रतिदिन बढिराखेका छन् । तर बजारमा प्रतिस्पर्धा भने थोरै डिजिटल भुक्तानी कम्पनीको मात्र रहेका छन् । 

अरुको देखासिकी गरेर त्यही ढाँचामा जान खोज्दा डिजिटल पेमेन्ट कम्पनी थोरै मात्र सफल देखिएका छन् । नेपालमा दुई दर्जनभन्दा बढी डिजिटल भुक्तानी कम्पनी दर्ता भएका छन् । तर धेरैले प्रयोग गर्ने भने थोरै मात्रामा रहेका छन् । बदलिँदो परिस्थितिसँग बदलिन नसक्दा र अरु कम्पनीको देखासिकी गर्दा यो अवस्था आएको जानकारहरू बताउँछन् । 

पछिल्लो समय निजी क्षेत्रका डिजिटल भुक्तानीले आफ्नो व्यापार बढाउन र नोटको प्रयोग कम गर्न ठेलागाडा, चियापसल, भट्टी पसलदेखि ठूला ठूला बिजनेस हाउससम्म आफ्नो पहुँच पुर्‍याइराखेका छन् । तर नमस्ते पेले भने त्यस्तो केही गर्न सकेको छैन । आफ्नो प्रचार रिचार्जमा मात्र सीमित गरेको छ । नमस्ते पे वालेट त्यसैमा रुमल्लिएर बसेको छ । गाउँ गाउँमा डिजिटल भुक्तानी पुर्‍याउने भनेर सुरु गरेको कम्पनीले गाउँमा मोबाइल रिचार्जमात्र पुर्‍याएको जस्तो देखिन्छ । 

(टक्सार म्यागजिनमा २०७८ चैत अंकमा प्रकाशित)