गुलाबको फुल आयातमा रोक, भ्यालेन्टाइन डे प्रभावित हुने


काठमाडौँ । सरकारले गुलाबको फुलको आयातमा रोक लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्गर्ततको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन विभागले बिहीवारदेखि लागू हुने गरी रोक लगाएको छ ।

केन्द्रले क्वारन्टाइन कार्यालयहरुलाई लेखेको पत्र संख्या २०७९/८० (चलानी नं. २३६) रहेको पत्र ‘विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात गर्नका लागि अनुमति पत्र जारी नगर्नुहुन’ जानकारी गराएको उल्लेख छ ।

केन्द्रले रोक्ने कारण भने खुलाएको छैन । आउदै गरेको भ्यालेन्टाइन डेमा गुलाबको अत्याधिक माग हुने भएकाले आयात प्रतिबन्धले प्रभाव पार्न सक्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङले बताए ।

“रोक लगाएको स्पष्ट कारण हामीलाई औपचारिक जानकारी छैन,” तामाङले भने, “अत्यधिक माग बढ्ने र यहाँको उत्पादनले मात्र नपुग्ने भएकाले भ्यालेन्टाइडेमा हुने कारोबार प्रभावित हुने देखिन्छ ।”

विभागको पत्र अनुसार हालसम्म अनुमति प्राप्त भएका र भन्सारमा आउदै गरेका गुलाब भित्रन सक्ने भए पनि नयाँ अनुमति पत्र भने जारी हुने छैनन् ।

नेपालका कांकडभिट्टा, भण्टावारी, विराटनगर, मलंगवा, जलेश्वर, विरगंज, तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, लोमान्थाङ्का र बैतडिमा क्वारेन्टाइन कार्यालय रहेका छन् ।