‘सहकारीले घरजग्गा र सेयरमा लगानी गरेका छैनन्’


काठमाडौँ । सहकारी क्षेत्रले जग्गा जमिन र सेयर बजारमा लगानी नगरेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । बिहिबार सहकारी क्षेत्रको वर्तमान अवस्थाको विषयमा पत्रकार सम्मलेन गर्दै अध्यक्ष उप्रेतीले सबै सहकारी संघ संस्थाहरुले जग्गा जमिनमा कारोबार नगरेको बताएका हुन् । केहि सहकारीले गरेकाे बद्मासीलाई जाेडेर सिंगाे सहकारी क्षेत्रलाई बदनाम गराउन नहुने उनकाे भनाइ थियाे ।

उनले भने, “पछिल्लो समय नेपालको मात्र नभएर विश्व अर्थतन्त्रमा देखिएको संकटका कारण पनि सहकारी क्षेत्रमा त्यसको असर परेको छ । केही समय धैर्या गराैँ । अर्थतन्त्रमा पनि केही सुधार आउने क्रममा छ । सहकारी क्षेत्रमा पनि अहिले देखिएकाे समस्याकाे समाधान हुनेछ ।’’

अध्यक्ष उप्रेतीले संचार माध्यमले पनि अहिलेको अवस्थामा नकारात्मक विषयहरु बढी रुपमा टिकाटिप्पणी नगर्न अनुरोध गरेको छन् । उनले भने, “अहिले आएका समाचारहरुले सबै सहकारी क्षेत्र संकटमा भएकाे महसुस गर्दै बचतकर्ताहरुले पैसा निकाल्न सुरु गरेका छन् । त्यसकारण सबै सहकारी संस्थाहरू उस्तै अवस्थामा छैनन् ।’’

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलले महासंघले सहकारी क्षेत्रको समस्याको अध्ययन, विश्लेषण तथा आवश्यक समन्वय गर्न समस्याउन्मुख संस्थाहरुको सहजीकरण उपसमिति समेत गठन गरि निरन्तर क्रियाशिल रहँदै आएको बताएका छन् ।

कडेलका अनुसार सहकारी अभियानप्रति विश्वासको वातावारण सिर्जना गर्न सरकारको समेत अभिभावकिय भूमिका निर्वाह हुनुपर्ने छ । उनले भने, “७३ लाखभन्दा बढी आमनागरिक आवद्ध भएको र ७ खर्बभन्दा बढी पूँजी परिचालन भएको क्षेत्रलाई नै खुम्चाउने गरी कुनै कार्य नगर्न पटकपटक सरकारसामु ध्यानकार्षण गरेका छौँ ।’’