राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउँदै


काठमाडाैं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन् । 

सोमवार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक नेपालले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताए।

उनले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताएका छन्। 

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने नेपालले उल्लेख गरे । उनका अनुसार वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको हाे ।

लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको उनले अाैंल्याएका छन्। कार्यकारी निर्देशक नेपालले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढ्दै गएको बताए ।

नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने,घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गरेका छन् । 

लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम नलाग्ने उनले बताए ।

नेपालले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन आग्रह गरेका छन् । नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको अाैंल्याए ।

पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गरिने बताएका छन् । पछिल्लो समय  केही शेयरका खेलाडीहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको समेत आरोप नेपालले लगाए । उनले कोरोना माहामारी र तरलता अभावको कारण पनि लघुवित्तहरुमा समस्या आएको बताए ।

त्यस्तै माइक्रोफाइनान्स एशोसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन भित्र लघुवित्तहरु बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताए ।

लघुवित्तहरुले ग्रामिण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लागेको उनले उल्लेख गरे।

पछिल्लो समय लघुवित्तहरुमा देखिएको समस्याको विषयमा नजिकबाट हेरिरहेको र लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको पनि उनले बताएका छन् ।