होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षका लागि पाँच आकांक्षी, सर्वसम्मतको प्रयास जारी


काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ । बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

संघको भावि नेतृत्व सर्वसम्मतिमा नै चयन गर्ने तयारी रहेपनि हालसम्म दुई जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् । संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार (भालु) श्रेष्ठले अध्यक्षमा लड्ने घोषणा गरेका छन् ।

यद्यपि, वर्तमान कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, उपाध्यक्ष निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा चासो देखाएका छन् । अन्य पदाधिकारी र सदस्यहरुमा भने अहिलेसम्म कसैको पनि उम्मेदवारी दाबी घोषणा भएको छैन ।

प्रारम्भिक रुपमा अध्यक्षमा पाँच जनाले आकांक्षा देखाएपनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । “संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा देखाएका छन् । तर निर्वाचन हुँदैन, हामी अधिकतम गृहकार्य गरेर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्छौ’’ उप्रेतीले भने ।

वर्तमान कार्यसमिति सर्वसम्मतिमा नै चयन भएकाले भावि नेतृत्व पनि सर्वसम्मतमा नै चयन गर्नेगरी सहमति जुटाइने उप्रेतीले बताए ।३ वर्षे कार्यावधि हुने संघको नेतृत्वमा २३ जना सदस्य रहने छ । २० जना प्रत्यक्ष चयन भएर बाँकी ३ जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनित गर्ने संघको विधानमा व्यवस्था छ ।