‘सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैनन्’


काठमाडाैँ । अर्थविद् तथा काठमाडौं विश्व विद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । 

मंगलवार काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यावसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको बताएका हुन् ।

नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको वाग्लेले उल्लेख गरे ।

उनले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने बताए ।

सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरु किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरिने बताएका छन्। 

नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण रहेको उनले उल्लेख गरे ।

सम्मेलन मंगलवार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ ।