कुलमानकाे सल्लाहमा हाइड्राेजन गाडी चढ्ने तयारीमा प्रचण्ड


काठमाडाैँ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले आफू हाइड्राेजन गाडी चढ्ने तयारीमा रहेकाे बताएका छन् । इनर्जीबाट हाइड्रोजन इनर्जीमा गएर मुलुकमा विभिन्न उद्योग, व्यवसाय सञ्चालन गरी आर्थिक गतिविधिलाई अघि बढाउन सकिने बताए ।

मंगलवार सोलुखोला–दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले मुलुकभित्रै पेट्रोल उत्पादन छिट्टै हुने आश्वासन समेत दिए । त्यसका लागि अध्ययन र अनुसन्धानको काम धेरै अघि बढिसकेको प्रधानमन्त्री दाहालका जिकिर थियो । 

प्रधानमन्त्री दाहालले डिजेल र पेट्रोलको विकल्पमा हाइड्रोजन गाडी चढन नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले प्रधानमन्त्री बनेको बेला सल्लाह दिएको र सोही अनुसार आफूले प्रधानमन्त्री कार्यालयमा त्यसको तयारीका लागि छलफल अघि बढाएको बताए।

अब पेट्राेल र डिजेल प्रतिस्थापन गर्दै ग्रीन इनर्जीतर्फ अगाडि बढ्नु आजकाे आवश्यकता रहेकाे उनकाे भनाइ छ। ”कुलमानजीले मलाई भन्नुभयाे–तपाईले प्रधानमन्त्रीको रुपमा अब अव यो डिजेल र पेट्रोलको गाडी होइन हाइड्रोजन गाडी चढ्नुपर्यो, प्रधानमन्त्री कार्यालयमा हामी छलफल गरेका छौं,” उनले भने, ”तपाईहरु सबैलाई पक्कै पनि थाहा छ–यो ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजन बनाउने सबभन्दा उपयुक्त अवसर हो ।”

नेपालले ग्रिन इनर्जीबाट ग्रिन हाईड्रोजनतिर गएर किसानहरुलाई आवश्यक पर्ने मलखाद उत्पादन गर्नका लागि पनि, यातायात क्षेत्रको लागि पनि, अन्य उद्योगको लागि पनि रिभोलुशन ल्याउनसक्ने सम्भावना पैदा भएको प्रचण्डकाे भनाइ छ । ”अहिले विकसित देशहरुमा बिस्तारै हाईड्रोजनको प्रयोगको मात्रा गुणात्मक रुपमा वृद्धि हुँदैछ । ग्रिन इनर्जीको यति धेरै सम्भावना भएको देश छौं हामी भने हामीले यो इनर्जीलाई हाइड्रोजनमा र हाईड्रोजनबाट हामीले तमाम अन्य उद्योग, व्यवसाय, आर्थिक गतिविधिलाई किन अघि नबढाउने ?” उनले भने ।

प्रधानमन्त्री दाहालले विद्युत व्यापारबाटै व्यापार घाटा सन्तुलनमा ल्याउनसकिने संकेत मुलुकमा देखापरेको बताए । मुलुक विद्युतमा आत्मनिर्भर भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई बिक्री गर्नका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहमति गरेको स्मरण गराए ।

”विद्युत उत्पादनतिर भन्दा अब उत्पादित विद्युतलाई देशभित्रै बढी भन्दा बढी खपत गर्ने वातावरण कसरी बनाउने भन्नेतिर हामीले सोच्नुपर्ने समयमा आईपुगेका छौं भने अर्कोतिर, विद्युत व्यापार गर्ने, विद्युत बिक्री गर्ने र त्यसबाट राष्ट्रिय आम्दानी हाम्रो अहिले जो व्यापार असन्तुलन छ ।” उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखापरेको आर्थिक संकट समाधान गर्ने बताए । मुलुकमा देखापरेका आर्थिक संकट समाधानका लागि आफूले केही दिनअघि मात्रै सरोकारवालाहरुसँग छलफल शुरु गरेको र केही दिनभित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उनकाे भनाइ छ।