चैत ९ गतेबाट सानिमा र रिलाइन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् ।

यी दुवै कम्पनी मर्जरमा गएपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएका छन्। मर्जरको लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणले फागुन १८ गते यी कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो । प्राधिकरणले चुक्ता पूँजीमा झण्डै दोब्बर वृद्धिको प्रावधान सहित चैत्र मसान्तसम्मको समयसीमा तोकेपछि ५ अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाकाबीच मर्जरका लागी गत असार २९ गते यी दुबै जीवन बीमकले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

दुबै कम्पनीले १ः१ को स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् । दुबै कम्पनीको फागुन १२ गते सम्पन्न साधारण सभाबाट गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गरि सकेका छन् ।

रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ। गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। न्यूनत्तम ५ अर्ब रुपैयाँको सीमामा पुग्नका लागी सानिमा रिलायन्स लाइफलाई अझै ९० करोड रूपैयाँ अपुग हुनेछ ।

त्यस्तै सानिमा रिलायन्स लाइफ कम्पनीको कार्यकारी अधिकृत (सिइओ)मा शिवनाथ पाण्डे रहने भएका छन् ।