काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) ११.४१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको इपिएसघटेर १७ रुपैयाँ ६३ पैसा भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको इपिएस १९ रुपैयाँ ९० पैसा रहेको थियो ।
कम्पनीको खुद नाफामा आएको सङ्कुचनका कारण प्रतिसेयर आम्दानी प्रभावित भएको हो। चालु आवको असोज मसान्तसम्म कम्पनीले २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २५ करोड ८५ लाख रुपैयाँको तुलनामा ११.३९ प्रतिशतले कम हो ।
नाफा र इपिएसमा गिरावट देखिए पनि कम्पनीको मुख्य व्यवसाय र कोषको आकारमा भने आक्रामक वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष ३५.३१ प्रतिशतले बढेर १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोजसम्म यो कोष १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँमा सीमित थियो ।
त्यसैगरी, कम्पनीको कुल बीमाशुल्क आर्जन २३.०६ प्रतिशतले बढेर १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क आर्जन २३.८५ प्रतिशतको वृद्धिसहित १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क र १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
हाल ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ चुक्तापुँजी रहेको रिलायबल लाइफको रिटेन्ड अर्निङ र महाविपत्ति कोषमा अघिल्लो असार मसान्तको तुलनामा राम्रो सुधार देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ २५.०७ प्रतिशतले बढेर १ अर्ब १ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ७.९७ प्रतिशतले वृद्धि भई ३१ करोड ३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ रहेको थियो।
यसैगरी, कम्पनीको सेयर प्रिमियम अघिल्लो असार मसान्तकै हाराहारी अर्थात् १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ यथावत रहेको छ तर अन्य इक्विटी भने ७६.८७ प्रतिशतले घटेर ६३ लाख १४ हजार रुपैयाँमा झरेको छ, जुन अघिल्लो असार मसान्तसम्म २ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पिई रेसियो) २६.०३ गुणा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्