काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज सभापति निवासमा लामिछानेसँग भेट गरी भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो।
रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि ११ दिने चीन भ्रमणमा जाँदैछ। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वका विषयमा अनुभव आदानप्रदान र छलफल हुने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका सिचुवान, जेजियाङ र बेइजिङका विभिन्न विकास आयोजना तथा संस्थाको अवलोकन गर्नेछ। सिचुवानमा उच्च प्रविधि तथा औद्योगिक पार्क, भूकम्पपछिको पुनर्निर्माण र विपद् व्यवस्थापनसम्बन्धी अभ्यासको अध्ययन गर्ने कार्यक्रम छ।
त्यस्तै, जेजियाङमा रोबोटिक्स प्रविधि, औद्योगिक पार्क, तीव्र गतिको रेल सेवा र यीवू अन्तर्राष्ट्रिय व्यापार केन्द्रको अवलोकन गर्नेछ। टोलीले चीन–नेपाल उद्यमी सम्मेलनमा सहभागिता जनाउनुका साथै बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम छ।
प्रतिनिधिमण्डलमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू सहभागी छन्। भ्रमण नोभेम्बर २६ मा सम्पन्न गरी टोली स्वदेश फर्कने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस्