आमसञ्चार क्षेत्रको सुधारका लागि सुझाव दिन समिति गठन


काठमाडौँ। सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा महासंघका पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र बिष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र बरिष्ठ पत्रकार बबिता बस्नेत रहेका छन् ।

समितिले आगामी आइतवारदेखि काम थाल्ने जनाइएको छ । काम थालेको तीस दिनभित्र प्रतिवेदन बुुझाउने गरी कार्य क्षेत्र निर्धारण गरिएको छ । समितिसँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीति निर्माण र कानुन परिमार्जन गर्नु आवश्यक देखिएकाले आम सञ्चार क्षेत्रका विज्ञहरुलाई त्यसको तयारी गर्ने जिम्मेवारी दिइएको बताइन् ।

आमसञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन गर्नुपर्ने कार्यहरूका बारेमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको मन्त्रालय प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए ।

अन्य मुलुकको अनुभव समेतका आधारमा आमसञ्चार क्षेत्रका सम्बन्धमा गर्नुपर्ने नीतिगत तथा कानुनी व्यवस्था र आमसञ्चार क्षेत्रको नियामकीय क्षमता वृद्धि गर्ने उपायका बारेमा सुझाव दिने जिम्मा पनि समितिलाई दिइएको उनले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आमसञ्चार सम्वद्ध नीति तथा कानुनको मस्यौदामा परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्ने विषयमा सुझाव प्राप्त भएपछि त्यसमाथि सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरी सोबाट प्राप्त सुझावलाई समावेश गरेर आम सञ्चार विधेयकको अन्तिम मस्यौदा तयार गरिने मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।