टाटाको इभी ट्याक्सी किन्न नबिल बैंकले ८० प्रतिशत ऋण दिने


काठमाडौँ । टाटा मोटर्सले नेपाली बजारमा उपलब्ध गराएको विद्युतीय ट्याक्सी एक्सप्रेस -टी खरिद गर्नेलाई नबिल बैंकले सहजै कर्जा दिने भएको छ। यसका लागि आइतबार सिप्रदी ट्रेडिङ प्रा लि र नबिल बैंकबिच सम्झौता भएको हो ।

नबिल बैंकले उक्त ट्याक्सी खरिद गर्न ८० प्रतिशत ऋण उपलब्ध गराउने जनाएको छ। यसैगरी, टाटाको ईभी ट्याक्सी ग्राहकहरूले २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर किन्न सक्ने कम्पनीले जनाएको छ।

यो ऋणको समयावधि ७ वर्षसम्मको लागि हुनेछ। यसको ब्याजदर १४।१० प्रतिशत कायम गरिएको छ। यसका लागि पाटनमा रहेको बैंकको शाखाबाट ऋण उपलब्ध हुने नबिल बैंकले जनाएको छ।

एक्सप्रेस–टी टाटा मोटर्सको प्रिमियम फ्लिट इलेक्ट्रिक सेडान हो, जसमा सहज ड्राइभिङ अनुभव र अन्य सविधाहरूको सही संयोजनको लागि उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ।

बैंकका अनुसार फ्लिट संचालनबाट हुने आम्दानीलाई पनि मासिक ईएमआई पुरा गर्नका लागि विचार गरी लिइनेछ, जसले गर्दा फ्लिट मालिकहरूलाई आफ्नो बक्यौता तिर्न सजिलो हुन्छ।

नेपालमा ईभीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले प्रिमियम फ्लिट ईभीसँग विभिन्न प्रकारका फाइदाहरू प्रदान गर्दै आएको छ।

यस अन्तर्गत अग्रणी सुविधाहरूदेखि लिएर फ्लिट ईभीलाई आवश्यक डेडिकेटेड चार्जिङ स्टेसन र सर्भिसिङसम्मका सुविधा उपलब्ध छन् ।