धमाधम रकमान्तर गर्दै सरकार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा लक्ष्यभन्दा निकै कममात्र पुँजीगत बजेट खर्च गर्न नसकेको सरकारले धमाधम बजेट रकमान्तर गर्न थालेको छ ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात फागनुमसान्तसम्म सरकारले ४६अर्ब ८ २ करोड ४ लाख रुपैयाँ एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गरिसकेको छ, यो १ करोड रुपैयाँभन्दा बढीको रकमान्तरमात्र हो ।

कुल रकमान्तर रकम ४६अर्ब ८ २ करोड ४ लाख रुपैयाँ २४ अर्ब रुपैयाँ वित्तीय व्यवस्थाको हो भने अरु पुँजीगत शीर्षकमा गरिएको रकमान्तर हो ।

यहाँसम्म कि बुढीगण्डकी जलविद्युत् आयोजनाको बजेटबाट ४० करोड रुपैयाँ नारायणी नदी व्यवस्थापन, चितवनको रिभमेन्ट निर्माणमा रकमान्तर गरिएको छ ।
रेलवे विभागको बजेटबाट डिभिजन सडक कार्यालयहरूलाई‌, राष्ट्रिय सूचना प्रविधिको बजेट हुलाक प्रशिक्षण केन्द्रलाई, उत्तर दक्षिण राजमार्गको बजेट सडक सुधार आयोजनालाई, समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रमको बजेट भूमिगत स्यालो तथा डिप सिँचाइ आयोजनालाई रकमान्तर गरिएको छ ।

यस्तै, जिल्ला अदालतहरूको बजेट काटेर उच्च अदालतलाई, बबई सिँचाइ आयोजनाको बजेट टार-बजार संरक्षण कार्यक्रमअन्तर्गत मेलम्ची पुनर्निमार्णलाई, सहरी करिडोर आयोजनाको बजेट सघन सहरी विकास कार्यक्रमलाई रकमान्तर गरिएको छ ।

यसैगरी, बुढीगण्डकी जलविद्युत आयोजनाको बजेट नारायणी नदी व्यवस्थापन आयोजनालाई, बुढीगण्डकीकै बजेट सुनसरी मरिन डाइभर्सन आयोजनालाई, उत्तर-दक्षिण राजमार्गको बजेट मदन भण्डारी राजमार्गलाई र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको बजेट सूर्यविनायक-धुलिखेल, कोटेश्वर-बानेश्वर-त्रिपुरेश्वर सडकलाई रकमान्तर गरिएको छ ।
भ्रमणमा ३ करोड ३१ लाख
चालू आर्थिक वर्षको पहिलो ८ महिनामा निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको विदेश भ्रमणमा ३ करोड ३१ लाख रुपैयाँ अर्थविविधबाट निकासा गरिएको छ ।

मदन भण्डारी फाउन्डेसन र प्रेस युनियनलाई पनि सहायता

सरकारले मदन भण्डारी फाउन्डेसनलाई गत कात्तिकमा ५ करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रिपरिषद्को २०७९ असार २४ को निर्णयअनुसार मदन भण्डारी फान्डेसनलाई ५ करोड रुपैयाँ दिइएको हो ।
यसैगरी, असोजमा नै प्रेस युनियनको महाधिवेशन गर्नका लागि अर्थमन्त्रालयबाट ३० लाख रुपैयाँ निकासा गरिएको पाइएको छ ।