वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी


काठमाडौँ । वर्ल्डलिंकले बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिआएआई) र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डिआइएफ आइआइ) बाट संयुक्त रूपमा एक अर्ब ९८ करोड लगानी प्राप्त गरेको छ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टकर्ताबाट ८।४ मिलियन डलर अर्थात् एक अर्ब ८ करोड नेपाली रुपैयाँ र डोल्मा इम्प्याक्ट फण्डबाट ६।१ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको हो। यो इन्टरनेट क्षेत्रमा हालसम्मकै सबैभन्दा ठुलो लगानी रहेको कम्पनीको भनाइ छ।

सन् २०१९ को अक्टोबरमा १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाइसकेको छ। यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७।२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्ककै सबैभन्दा उच्च रहेको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंक ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरू भएको सबैभन्दा ठुलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरूलाई गति दिने कार्य गरिरहेको छ।

हाल कम्पनीमा ५ हजार ५ सय कर्मचारी कार्यरत छन्। ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्ने र कर्मचारीहरूको सिप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत पुग्ने कम्पनीले जानकारी दिएको छ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सिप विकास र तालिम कार्यक्रमहररू विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ।

कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भए पनि वर्ल्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको छ। साथै कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता रहेकाे कम्पनीले जनाएकाे छ ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरनेट विस्तारको गतिविधिहरूलाई गति दिनेछ । वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउनेछ। गुणस्तरीय इन्टरनेटले उद्यमहरूको विकासलाई मात्र होइन, अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्ने कम्पनीको भनाइ छ ।

वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रूपान्तरण गर्ने लक्ष्य राखेको बताए । उनका अनुसार अन्य कम्पनीलाई पनि प्रेरित गरेर रोल मोडल बनाउन नेतृत्व गर्नेछ।