विश्व बैंकद्वारा नेपालको शिक्षा क्षेत्रका लागि १५ अर्ब ७९ करोड रुपैयाँ सहायता स्वीकृत


काठमाडौं । विश्व बैंकले नेपालको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर (१५ अर्ब ७९ करोड रुपैयाँ ) बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ ।

विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन नेपाल सरकारको विगतका विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमहरूमा आधारित रहेको उल्लेख गर्दै बैंकले स्थानीय सरकार स्तरमा शिक्षक परामर्श प्रणाली स्थापना गरी उच्च आधारभूत र माध्यमिक तहमा विषय शिक्षकहरू (अङ्ग्रेजी, गणित र विज्ञान) को पूरक सुनिश्चित गरी गुणस्तरीय शिक्षामा बढी ध्यान केन्द्रित गरिने जनाएको छ ।

“गुणस्तरीय शिक्षामा लगानी गर्नु मानव पुँजीको विकासको लागि महत्वपूर्ण छ जुन अधिक समानता र आर्थिक वृद्धि सुनिश्चित गर्नको लागि केन्द्रमा जान्छ,“ माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जर्भोसले भने,“यो अभियानले नयाँ संघीय राज्यको महत्वाकांक्षा पूरा गर्न शिक्षामा गुणस्तरीय र समतामूलक पहुँच अभिवृद्धि गर्ने नेपाल सरकारको दृष्टिकोणलाई समर्थन गर्दछ ।”

प्रारम्भिक कक्षामा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधारमा कार्यक्रम केन्द्रित भएको बैंकले बताएको छ ।

कोभिड–१९ तथा अन्य विपद्का कारण विद्यालय बन्द हुँदा भएको सिकाइ क्षतिलाई सम्बोधन गर्न कार्यक्रमले ’रिकभरी एण्ड एक्सेलेरेटेड लर्निङ प्लान’को विकास र कार्यान्वयन, हरित र लचिलो कक्षाकोठाको निर्माण र डिजिटल शिक्षण तथा सिकाइ सामग्रीको सुदृढीकरण गर्ने बैंकको भनाइ छ ।