झन्डै साढे तीन लाखले घटे नेपाल टेलिकमका ग्राहक


काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका ग्राहक एकै महिनामा करिब साढे तीन लाखले घटेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम एमआईएस को विवरणअनुसार २०७९ मंसिरको तुलनामा टेलिकमका ग्राहक पुसमा ३ लाख ४३ हजार ४२८ जनाले घटेको हो ।

प्राधिरणको विवरणअनुसार २०७९ मंसिरमा टेलिकमका ग्राहक २ करोड १३ लाख २५ हजार ३५१ रहेकोमा पुसमा यो संख्या २ करोड ९ लाख ८० हजार २३८ मा झरेको छ ।

टेलिकमको ग्राहक घटे पनि उसको प्रतिष्पर्धी एनसेलले पनि ग्राहक बढाउन सकेको देखिँदैन । मंसिरमा एनसेलका ग्राहक १ करोड ३४ लाख ७ हजार ५३८ रहेकोमा माघमा १ करोड ३४ लाख ९ हजार ६१ मात्र पुगेको छ ।

जनसंख्याभन्दा २२ प्रतिशत बढी सीमकार्ड

हाल सञ्चालनमा रहेका तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम, एनसेल र स्पाइस टेलिकमले जनसंख्याभन्दा २२ प्रतिशतभन्दा अधिक सीम कार्ड वितरण गरेको पाइएको छ । हालै सार्वजनिक भएको जनगणना-२०७८ को स‍ंक्षिप्त नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेकोमा गत पुससम्म यी तीन कम्पनीले ३ करोड ५९ लाख ८९ हजार ६८९ वटा सीम कार्ड वितरण गरेका छन् ।

प्रयोगकर्ताभन्दा धेरै सीम

जनगणनाको तथ्यांकअनुसार ४८ लाख ८५ हजार नेपालीसँग सामान्य खालको फोन र ४८ ‌लाख ७६ हजार नेपालीसँग स्मार्टफोन छ, दुवै जोड्दा ९७ लाख ३९ हजार नेपालीसँग मात्रै फोन छ । सबै स्मार्टफोनमा दुई वटै सीमकार्ड प्रयोग गरिएको मान्दा पनि वास्तविक प्रयोगकर्ता भन्दा दुई करोड नै सीमकार्ड बढी बाँडेको पाइएको छ ।