सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु (फाेटाे फिचर)


काठमाडाैँ । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । आज अपरान्ह ४ बजेबाट मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो ।

त्यस्तै आज नै ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ । चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनछ भने १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ ।

त्यस्तै चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ । 

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ ।

सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन्। धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ।