नेपाल टूरिजम फेस्टिभल हुँदै


काठमाडौँ । आन्तरिक पर्यटन दिवसका रूपमा नेपाल टूरिजम फेस्टिभल हुने भएको छ । काठमाडौँको बसन्तपुरमा वैशाख १ र २ गते नेपाल टूरिजम फेस्टिभल हुने भएकाे हाे । नेपाल पर्यटन बोर्डको सहयोग, नेपाल पर्यटन प्रवर्द्धन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा हुन लागेको हो । यस वर्षदेखि सुरु हुने यो फेस्टिभल हरेक वर्ष हुने उल्लेख गरिएको छ ।

यसको सुरुवातका रूपमा नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रूपमा मनाउँदै नेपाल टूरिजम फेस्टिभल सुरु हुन लागेको हो ।

नेपालको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन हो पर्यटनमार्फत नेपालको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैभन्दा पहिले पर्यटनको नीतिगत बहस तथा छलफल बढाउन आवश्यक छ।

यस फेस्टिभलमा शिक्षा, स्वास्थ्य, कृषि, खेलदेखि राजनीतिक विषयलाई पर्यटनसँग जोडिएर न्युनतम १० देखि अधिकतम १५ वटा सेसनहरू सञ्चालन हुने उल्लेख गरिएको छ । फेस्टिभलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् भने अन्तिम सेसन ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’ पर्यटनमन्त्री सुदन किरातीको हुने आयाेजकले जनाएकाे छ ।

फेस्टिभलमा विभिन्न विधाको पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुने उल्लेख गरिएकाे छ । अन्य सेसनमा ‘पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास’, ‘स्वास्थ्य पर्यटन – स्वास्थ्य सदृश्य र संसार, ‘चलचित्र पर्यटन: सिन, सिनेमा र सेलिब्रेटी’ हुनेछन् । ‘व्यावसायिक पर्यटन : रहर, सहर र पर्यटन बजार, ‘पर्यटनमा जलवायु परिवर्तनको असर : हिउँ हिमाल र हिमालय’ सेसन पनि सञ्चालन हुनेछ ।

यस्तै ‘युवा पर्यटन अभियन्ता : ट्राभलर एण्ड एक्सप्लोरर, ‘सात प्रदेशको पर्यटन: सम्भावना र चुनौति’, ‘हेरिट्ज़ टुरिजम : काठमाडौ उपत्यका र विश्वसम्पदा’, ‘एयरलाइन्स टूरिजम : उडान, उड्डयन र नेपाली आकाश’ सेसन पनि सञ्चालन हुनेछन् ।

यस्तै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको ‘नेपाल अनुभव’, ‘खेल पर्यटन : खेल – खेलाडी र गोर्खाली’ तथा ‘कला पर्यटन : संगीत, सौन्दर्य र सुनौलो नेपाल’, ‘कृषि पर्यटन : माटो, बाटो र दोबाटो’ सेसन पनि सञ्चालन गर्ने तयारी रहेकाे उल्लेख गरिएकाे छ ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नारा बोकेर सञ्चालन गर्न लागिएको नेपाल टूरिजम फेस्टिभलमा नेपाल पर्यटन बोर्ड, नाथम, नाट्टा, टान, हान, भिटोफ सँग सहकार्य गरिएको छ।