सात वर्षमा ३० प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध


काठमाडौँ । नेपालमा कुल स्वास्थ्य बिमित परिवारको ३० प्रतिशत पुगेको छ । सातौं स्वास्थ्य बिमाको वार्षिकोत्सवमा आयोजित अन्तक्रिया कार्यक्रममा पछिल्लो समय स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुने परिवारको संख्या ३० प्रतिशत पुगेको छ । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ७ वर्ष बितिसक्दा पनि बिमा योजनामा आवद्ध हुनेको संख्या अपेक्षाकृत नभएको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार २०७९ चैत १५ गतेसम्म ६४ लाख ५४ हजार ७ सय ७२ अर्थात कुल जनसंख्याको २२.१३ % व्यक्ति बिमा योजनामा सहभागी भएका छन् । त्यस्तै हालसम्म १९ लाख ३१ हजार ६ सय ३२ (३५.६० %) परिवार बिमा योजनामा आवद्ध भएको बोर्डले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार ७७ जिल्लाका ७४८ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएको छ । कुल बिमितमध्ये ०७९ चैत १५ गतेसम्म २८ लाख ९३ हजार ५ सय ७२ जना अर्थात् कुल बिमितको ४५ प्रतिशत जनसंख्याले स्वास्थ्य बिमा कार्यक्रमको उपभोग गरेको बोर्डले जनाएको छ ।

बोर्डले चालू आर्थिक वर्षको चैत १५ गतेसम्म कुल बजेटको ५२ प्रतिशत खर्च गरेको छ भने ४६ प्रतिशत भौतिक प्रगति भएको उल्लेख गरेको छ ।

स्वाथ्य बिमा कार्यक्रममा जोडिनेको संख्या बढिरहे पनि नविकरण नगर्नेको संख्या पनि धेरै रहेको छ । बोर्डको तथ्यांकअनुसार पुस मसान्तसम्म ११ लाख ९६ हजार ४ सय ५२ परिवारले बिमा योजना नविकरण गरेका छन् भने ३७ लाख ०२ हजार ४ सय ३० बिमितले पनि उक्त योजना नविकरण गरेका छन् ।

जसअनुसार बिमा योजना नविकरण नगर्नेको संख्या २६ लाख ९२ हजार १ सय ७३ रहेको तथ्यांकले देखाएको छ ।