स्वास्थ्य बीमा बोर्डले सातौँ वार्षिक उत्सव मनाउँदै,७७ वटै जिल्लामा पुग्यो कार्यक्रम


काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमका लाग चालु आर्थिक वर्षमा हालसम्म ९ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको छ ।

स्वास्थ्य बीमा बोर्डले सातौँ वार्षिक उत्सवको पूर्वसन्ध्यामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमका लागि छुटइएको १७ अर्ब ३२ करोड ८७ लाख ५७ हजार रुपैयाँमा ९ अर्ब ९७ लाख ३१ हजार २० रुपैयाँ भुक्तानी गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले अस्पतालहरूलाई भुक्तानी दिने प्रकृयालाई छिटो छरितो बनाउने प्रयास जारी रहेको भन्दै अहिलेसम्म ९ अर्ब रुपैयाँ भन्दा बढी दाबी भुक्तानी भइसकेको बताए । उनले भने,“बोर्डको आफ्नै स्थायी संरचना नहुँदा समस्या छ तर हामीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने प्रयास जारी छ ।”

२०७२ चैत २५ गते स्थापना भएको स्वास्थ्य बीमा बोर्डले आज सातौँ वार्षिक उत्सव मनाउँदै छ ।

बोर्डका अनुसार ७७ जिल्लाका ७४८ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लागु भइसकेको छ । अहिलेसम्म कुल १९ लाख ९४ हजार ३३८ परिवारले स्वास्थ्य बीमा गरेको बोर्डले जानकारी दिएको छ ।

कुल बीमित जनसंख्या ६४ लाख ५४ हजार ७७२ जना पुगेको छ । कुल बीमितमध्ये सेवा लिनेको संख्याः २८,९३,५७२ अर्थात ४५ प्रतिशतले सेवा लिएका छन् ।

चैत १५ गतेसम्म म्याद सकिएका ३८ लाख ७१ हजार ८५० जनाले बीमा नवीकरण गरेका छन् । नवीकरण गर्ने यो संख्या ७५ प्रतिशत हो । विभिन्न समस्या झैल्दै स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढिरहेको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए ।

उनले भने,“भर्खरै हिड्न थालेको बच्चा विभिन्न ठाउँमा लड्दै फेरि उठ्दै गरे जस्तै स्वास्थ्य बीमा कार्यक्रममा त्यसैगरी अगाडि बढिरहेको छ । स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न समस्या छन् तर हामी त्यसलाई समाधान गर्दै अगाडि बढेका छौँ ।”

अघिल्ला वर्षहरुमा बीमा कार्यक्रमको भुक्तानी लगायतका समस्या भएपनि अहिले मंसिर, पुससम्मको भुक्तानी भइसकेको उनले जानकारी दिए ।

बीमा कार्यक्रम नागरिकको सहजताका लागि ल्याइएकाले यो लागू गराउन सेवा प्रदायक व्यक्ति तथा संघ संस्था सबैले ध्यान दिन जरुरी रहेको पनि बसौलाको भनाई छ ।

स्थानीय तहले प्रथम सेवा विन्दु नतोक्दा काठमाडौं महानगर र ललितपुर महानगरमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न नसकिएको उनको भनाई थियो ।

स्वास्थ्य बीमा कार्यक्रममा रहेका समस्यालाई समाधान गर्न लागि परिरहेको बोर्डका प्रवक्ता तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले बताए । उनले भने,“अहिलेको नयाँ जजगणनाको जनसंख्या अनुसार २२ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।”