कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै ६ वाणिज्य बैंकलाई कारवाही


काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ ८० को तेस्रो त्रैमासमा क वर्गका वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । क वर्गको इजाजतप्राप्त वाणिज्य बैंकहरु, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागबाट कारबाही गरिएको हो ।

राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै ६ बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, सेञ्चुरी कर्मर्सियल बैंक (हाल प्राप्ती पश्चात प्रभु बैंक) र नेपाल बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले नबिल बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै हर्जना तिराएको छ । राष्ट्र बैंकले नबिल बैंकलाई साउन, भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ हर्जाना तिराउको हो ।

ग्लोबल आइएमई बैंकलाई ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ हर्जाना तिराएको छ । २०७९ भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कारबाही गरेको हो ।

तत्कालिन सेञ्चुरी कर्मर्सियल बैंक (हाल प्राप्ती पश्चात प्रभु बैंक) लाई २०७९ साउन र भदौमा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै २ करोड ८४ लाख रुपैयाँ तिराएर कारबाही गरेको हो ।

यस्तै, २०७९ भदौ कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रुपैयाँ हर्जाना तिराएको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकलाई सम्पती शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराएको छ ।