टेकोको भरमै गुलजार असन (फाेटाे फिचर)


असन बजार । नुनदेखि सुनसम्म, जिरादेखि हीरासम्म जुन कुनै सामान आवश्यक परे तुरुन्तै पाइने बजारको पहिचान पाएको बजार हो काठमाडौँको असन बजार तर यो बजारको महत्वपूर्ण सामान पाइने बजारको रूपमा मात्र छैन । यससँग जोडिएको एतिहासिकतासँग पनि छ ।

अर्थसामाजिक इतिहासलाई प्रत्यक्ष हेर्न असन गए पुग्छ । करिब दुई शताब्दीदेखि निरन्तर कुनै बजार एउटै गतिमा चलेको छ भने सायद असन बजार नै होला । खोजेको, चाहिएको मात्र हैन कल्पना गरिएको सामान अन्यत्र नपाइए जानु पर्ने बजार हो काठमाडौँको असन बजार । नेपालका विभिन्न भेगमा पाइने थरीथरीका सामान यहाँ पाइन्छ ।

तत्कालीन भोट नेपाल व्यापारका लागि पनि यहाँ सामान ल्याउने लैजाने गरिएको इतिहास छ । जन्मेदेखि मृत्युपर्यन्त आवश्यक पर्ने रैथानेदेखि आधुनिक उपजसमेत पाइने यहाँका पसलमा ६ पुस्तादेखि व्यापार गरेकाहरू भेटिन्छन् । २०७२ सालको भूकम्पपछि असन बजारलाई पनि असर गरेको छ । यहाँका संरचनाहरू टेकेको भरमा छन् तर पनि व्यापार उस्तै गुल्जार छ । लाग्छ कि यहाँ सबैले भूकम्प विर्सिसके ।

पछिल्लो समयमा काठमाडौँ महानगरपालिकाले असनको पसल बाहिर पनि राखिएका खुद्रा पसललाई खाली गराउँदै गल्लीलाई फराकिलो बनाउँदा सो क्षेत्रमा हिँड्न केही सहज भएको महसुस गरिएको छ । यद्यपी असन आफ्नो पुरानै पहिचानमा गुल्जार चलिरहेको छ । टेको लगाएका घरहरू अझै परिपक्कताको खोजीमा देखिन्छन् । ताकि पुनः भूकम्प आउँदा पनि सुरक्षित रूपमा चलिरहन पाओस् ।

(टक्सार म्यागजिन, चैत २०७९ बाट)

शब्द/तस्बिरः पुष्पा पाल