‘मिटरब्याजीहरू सामन्तवादको भद्दा अवशेष’


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।

आईतवार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताएका हुन् ।

मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनैपनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरे ।

गृहमन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टीका व्यक्ति र पहुँचवाला व्यक्तिहरुलाई सरकारले कारबाही गर्ने चेतावनी दिए । उनले मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्ताहरूलाई समेत कानूनी दायरामा ल्याइने चेतावनी दिए ।

उनले भने,“‘सामन्तवादको केही भद्दा अवेशेषहरु अझैसम्म बाँकी रहेका छन्। यो हाम्रो लागि लज्जा र दुःखको विषय हो । यो मिटरब्याजी विषय लज्जाको विषय हो । किसानहरु पीडित भएका छन् । गरिब किसानले न्याय पाएनन् भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुन सक्दैन ।”

अहिलेको ऐनका व्यवस्थाबाट ठगिको सन्दर्भलाई अघि सारेर केही कारबाही त गर्न सकिए पनि पर्याप्त नभएको र मिटरब्याजी सम्बन्धी कानूनमै कारबाहीको प्रकरणलाई नै कानूनमा राखेर मन्त्रीपरिषद्ले त्यो प्रक्रिया अघि बढाइसकेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने,“हामी पीडितलाई जसरी पनि न्याय दिनेछौँ र पिडकलाई कारबाही गर्नेछौँ । यो हाम्रो प्रतिवद्धता हो । यो प्रतिवद्धता यसपटक म आफैँ गृहमन्त्री छु, अर्को पटक फेरि मिटरब्याजी समस्या समाधान गर्न अर्को छानबिन गर्नु नपरोस्, भनेर हामी जानु नपर्ने तरिकाबाट अघि बढेका छौँ ।”
मन्त्री श्रेष्ठले मिटरब्याजीहरू सामन्तवादको भद्दा अवशेषका रुपमा अझै जीवित रहेको बताए ।