निजी क्षेत्रको सहयोगविना उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिँदैन : प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहयोगविना राज्यले मात्रै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन् ।

सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले राज्यले निजी क्षेत्रसँग सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिन नसक्ने बताएका हुन् ।

उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व लिनसक्ने भन्दै राज्यले त्यसको निम्ति वातावरण बनाइदिनुपर्ने बताए ।

उनले भने, “मैले यो पटक अलि बढी जोड दिएको कुरा भनेको निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिनै सक्दैन । हामीले अहिले अलिबढी जोड दिएका छौँ, उत्पादन वृद्धि गर्ने कुरालाई । रोजगारी सृष्टि गर्ने कुरालाई । यो उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरा आजको युगमा सरकारले पूरा गर्नसक्ने कुरा मुख्य रुपमा होइन । निजी क्षेत्रले मात्रै उत्पादन वृद्धिको र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छ र त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ ।”

प्रधानमन्त्री दाहालले राजनीतिमा सकारात्मक भन्दा नकारात्मक कुरा गर्ने अराजक प्रवृत्ति देखापरेको बताए । उनले राजनीतिमा आत्मविश्वास, प्रेरणा र आशा जघाउनेभन्दा पनि सबैतिर अध्यारो देखाउने प्रवृत्ति बढेको भन्दै यो विषय गम्भिर र घातक भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले राजस्व बढ्दै गएको र विदेशी मुद्राको सञ्चिति पनि उत्साहजनक रहेको उल्लेख गर्दै बैंकको ब्याजदर पनि घटाउन जोडबल गरिरहेको बताए ।