मुलुकलाई आर्थिक नीतिले होइन मौद्रिक नीतिले चलायो : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकलाई आर्थिक नीतिले नभई मौद्रिक नीतिले सञ्चालन गरिरहेको टिप्पणी गरेका छन् ।

नेपाल घरजग्गा तथा आवास विकास संघको १६ औं साधारण सभामा बौल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बजेटले प्रक्षेपण गरेको कुरा मौद्रिक नीतिले सहयोग नगरेको भन्दै आलोचना गरे ।

उनले भने,“ २ वर्षदेखि मुलुकलाई आर्थिक नीतिले होईन मौद्रिक नीतिले चलाईरहेको छ । बजेटले एउटा प्रक्षेपण गरिरहेको हुन्छ । मौद्रिक नीति उल्टो हिँडिरहेको हुन्छ ।”

मौद्रिक नीतिले बजेटलाई सकारात्मक सहयोग गर्न नसकेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाई थियो । उनले तत्काल व्याजदर घट्नुपर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले व्याजदर धान्ने नसकरे र घट्नुपर्छ भनेर आवाज उठाएको उल्लेख गर्दै व्यापार व्यावसाय धस्सिने अवस्थामा आईसकेको उल्लेख गरे ।

उनले घरजग्गालाई अनुत्पादक क्षेत्र भन्ने गरेकोमा असहमति प्रकट गरे ।

उनले भने,“ घरजग्गा व्यावसाय अनुत्पादक हो भने उत्पादक क्षेत्र कुन हो ?” पहिले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक भन्ने गरिएकोमा अहिले अएर घरजग्गा पनि थपिएको भन्दै असन्तुष्टि जनाए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने,“घरजग्गा व्यावसायलाई अनुत्पादक क्षेत्र भनेर जुन लेभल लागेको छ यो हटाउनुपर्छ र सबैलाई आवाज उठाउनुपर्छ । ”