प्रधानमन्त्री प्रचण्डले भने,‘औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता भयो’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्योग व्यावसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामि आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने समेत बताए ।

उनले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले भने,“ नेपाल सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र बनाएको नीति तथा कार्यक्रम अनुसार नयाँ उद्यमीहरुको उत्पादन, सो उद्यमशीलताको विकास तथा बिस्तार गर्दै रोजगारी वा स्वरोजगार बढाउने, कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नु आजको मुख्य आवश्यक्ता हो ।”

उनले तिब्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यक्ता महशुस गरेको उल्लेख गरे ।

तिब्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको उनको भनाई थियो ।

उनले भने,“विदेशी लगानीमैत्री वातावरण बनाउन हामीले केही कठोर कदम चाल्नुपर्ने महशुस गरेको छु, ऐन होस् वा विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता मैले महशुस गरेको छु ।”

प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताउँदै आगामी वर्षको बजेटमा उत्पादन र रोजगारी वृद्धि गर्ने बता दाबी गरे ।

तत्काल देखापरेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रुपमा चाल्नुपर्ने नीति, कार्ययोजनाका बारेमा निजी क्षेत्रसँग छलफल भइरहेको उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले भने,“हामी अहिले पक्कैपनी निकै जटिल र चुनौतिपूर्ण स्थितिबाट मुख्य रुपमा आर्थिक क्षेत्रमा चुनौतिको क्षेत्रबाट अघि बढेका छौँ । हामी सरकारको तर्फबाट अब नीति, कार्यक्रम र बजेट प्रस्तुत अन्तिम तयारीमा छौँ । उत्पादन र रोजगारी उत्पादन वृद्धि र रोजगारी सृष्टि हाम्रो नीति कार्यक्रम र बजेटको पहिलो प्राथमिकतामा पर्नुपर्छ, त्यसले मात्रै हामीलाई अघि लैजान्छ भन्ने दिशामा हामी अघि बढेका छौँ ।”

वर्तमान अवस्थामा नेपालमा आर्थिक स्थिति सुदृढीकरण हुँदै गएको दाबी गर्दै कृषिलाई उच्च प्राथमिकता दिएर मात्रै देशको समग्र उद्योग र अर्थतन्त्रलाई सुदृढीकरण गर्न सकिने बताए ।