राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अर्थमन्त्रीको अपेक्षा


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले बैंकको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरूको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने विश्वास व्यक्त गरे ।

उनले सरकारकोतर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताए । उनले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको बताए ।

उनले भने,“ अहिले ब्याजदर उच्च भएको हुनाले पहिला जसले लो ब्याजदरमा ऋण लिएका थिए, उनीहरूले पनि हिसावकिताव तिर्न सकेका छैनन्, अब लिन खोज्नेले पनि लिन खोजेका छैनन् । सरकारकोतर्फबाट पनि पुँजी खर्च भएको छैन, मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्नेकुरामा पनि समस्या देखिएको छ । सम्बोधन हुनुपर्छ । मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ ।”

मन्त्री महतले आगामी वर्षको बजेटका लागि श्रोत जुटाउने चुनौति सरकारलाई रहेको उनको भनाई थियो ।