स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने मेरो प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री बस्नेत


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

मन्त्री बस्नेतले स्वास्थ्य बिमा गरेकाहरूको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए ।

आज मन्त्रालयमा पत्रकारसँगको छलफलमा मन्त्री बस्नेतले स्वास्थ्य बिमा गरेका मानिसहरूलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे ।

मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताए ।

मन्त्री बस्नेतले भने,“यो स्वास्थ्य बिमाको बारेमा गम्भीर विषय उठेको छ । स्वास्थ्य बिमामा एक रुपता पनि रहेन । अनि, बिमा गरेको मान्छे भनेर हस्पिटलमा जाने बित्तिकै त्यसलाई दोस्रो दर्जाको विरामीको रुपमा हेरिने अवस्था पनि सुनेको छुँ ।”

उनले बिमा कार्यक्रम राम्रो भएको भन्दै यसलाई प्रभावकारी बनाउनुको बिकल्प नभएको बताए ।

उनले भने,“बिमालाई प्रभावकारी बनाउनुपर्छ । यो कार्यक्रम राम्रो हो तर यसलाई कार्यान्वयन गर्ने पक्ष त्यतिधेरै प्रभावकारी देखिएको छैन । मैले यो विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरि यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पनि कुरा गर्दै आएको छु ।”

बिमा गरेकाहरूको उपचारमा सरलीकरण गर्न, प्रभावकारी गर्न सक्नुपर्ने बाध्यता रहेको मन्त्री बस्नेताको भनाई छ । उनले भने,“यसका लागि पनि यो पटक बजेट थपिएको छैन । हामीले यो कुरा उठाईराखेका छौं । यो गम्भीर कुरा हो । यसलाई गम्भीरताका साथ मैले आएको दिनबाट लिएको छु ।”

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भएपनि बाह्य लगानी भित्राउन आफूलाई कुनै समस्या नरहेको पटकपटक दोहोर्‍याए । क्यान्सर जस्ता प्राणघातक रोगहरुको उपचारमा थप राहत दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताए ।