बजेट र मौद्रिक नीति मार्फत आर्थिक संकट समाधानको बाटो खोज्न व्यावसायीको आग्रह


काठमाडाैँ । इकोनोमिक मिडिया सोसाइटी नेपालले नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, पदाधिकारी र सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सम्मान तथा बधाई कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी लगायत कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो ।

कार्यक्रमलाई संबोधन गर्दै महासंघका अध्यक्ष ढकालले महासंघ र मिडिया सोसाइटीबिच सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ढकालले आफु अध्यक्ष भएसँगै महासंघले ५ वटा मुद्दालाई अगाडी बढाइरहेको जानकारी दिए । अहिलेको आर्थिक मन्दिबाट कसरी बाहिर निष्किएर पुरानो लयमा फर्किने भनेर नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समन्वय गर्दै अगाडी बढ्ने कार्यदिशा रहेको उनले बताए ।

सरकारलाई लगानीको वातावरण बनाउन महासंघले पहल गर्ने ढकालले जानकारी दिए ।

सरकार र व्यवसायीबिच हुँदै आएको आरोप प्रत्यारोपलाई कमि गर्ने तर्फ महासंघ अगाडी बढ्ने अध्यक्ष ढकालको भनाई छ ।

नेपालमा हरेक वर्ष ५ लाख जनशक्तिको उत्पादन हुने तर ति सबै अदक्ष जनशक्ति भएकाले विदेशबाट दक्ष जनशक्ति ल्याउनु पर्ने अवस्था रहेको भन्दै ढकालले दक्ष जनशक्ति उत्पादनमा महासंघले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको ८० प्रतिशत योगदान रहेको भन्दै अध्यक्ष ढकालले करदातालाई सम्मान गर्ने बतावरण बनाउन महासंघले पहल गर्ने बताए ।

महासंघले अर्थतन्त्रका विषयमा उठाएका मागलाई सरकार तथा नेपाल राष्ट्र बैंकले केहि मात्रामा सम्बोधन गरे पनि अझै महासंघका कयाैँ माग पुरा नगरेको आरोप लगाए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा मार्फत पुनरकर्जा तथा पुनर्तालिकिकरणका क्रममा एकै पटक कल व्याक नगर्न सुझाव दिएका छन् ।

महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्न मिडियालाई साथ दिन आग्रह गरे ।

पछिल्लो समयको आर्थिक मन्दीलाई लिएर नेपाल राष्ट्र बैंक मौद्रिक नीतिले मात्रै समाधान नहुने बताइरहेको र सरकार वित्तीय नीतिले मात्रै समाधान हुने अवस्था नरहेको बताउदै गर्दा समाधान कसको हातमा हो भन्दै श्रेष्ठले प्रश्न गरेका छन् ।

उनले भने,“औद्योगिक क्षेत्र, निर्माण क्षेत्र, व्यवसायिक क्षेत्र सबै ऋणात्मक रहेको भन्दै श्रेष्ठले नेपाल सरकार र राष्ट्र बैंकले मिलेर कर्जा पुनर्तालिकिकरण गर्नेदेखि लिएर देखिने गरि व्याजदर घटाउन पहल गर्नु पर्छ ।”

नेपालमा पूँजीको अभाव रहेको भन्दै श्रेष्ठले विदेशबाट पूँजी ल्याउन सरकारले पहल गर्नु पर्ने श्रेष्ठको सुझाव छ । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको भन्दै छिटो भन्दा छिटो लोडसेडिङको घोषणा उनले अनुरोध गरेका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष सुरज कृष्ण बैद्यले व्यवसायी र मिडिया मिलेर अगाडी बढेमा सरकार सँग लविङ गर्न सजिलो हुने बताए ।

अर्का उपाध्यक्ष हेमराज ढकालले मौद्रिक समीक्षाले अहिलेको संकटपूर्ण अर्थतन्त्रलाई संबोधन गर्न नसकेको आरोप लगाएका छन् ।

अर्की उपाध्यक्ष ज्योत्सना श्रेष्ठले व्यवसायीहरू कठिन मोडमा उभिइरहेको भन्दै आगामी मौद्रिक नीति तथा बजेट मार्फत सम्बोधन गर्नका लागि सबैलाई अनुरोध गरेकी छिन् ।

वर्किङ क्यापिटलको २५ प्रतिशतको स्ल्याबले व्यवसायीहरुलाई ठुलो असर पु¥याएको भन्दै यसलाई तत्काल हटाउन सरकार समक्ष आग्रह गरेकी छिन् । महासंघका कोषाध्यक्ष निरज केसीले व्यवसायीहरू हतोत्साहित भएको भन्दै यता तर्फ ध्यानाकर्षण गराएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक सञ्चार माध्यमले व्यवसायीको आवाजलाई सरकार समक्ष पुर्‍याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । व्यवसायीहरूलाई सञ्चार माध्यमबाट टाढिने भन्दा पनि सूचना उपलब्ध गराएर सहकार्य गर्न अनुरोध गरेका छन् ।