मौद्रिक नीतिको समीक्षा निजी क्षेत्रले अपेक्षा गरे जस्तो छैनः अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।

काठमाडौंमा शनिबार इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समिक्षा पर्याप्त नभएको दाबी गरे ।

उनले चुनौतिपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको उल्लेख गरे ।

राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि ५ करोडमा मात्रै सिमित भएको र उनले असार मसान्तसम्म बैंकको कर्जामा ५ करोड सम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त नभएको बताए ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरु सम्बोधन नै भएनन् भन्न नमिल्ने उनको भनाई थियो ।

अध्यक्ष ढकालले भने,“उद्योग वाणिज्य महासंघले वर्तमान अर्थतन्त्रको समस्याबाट कसरी बाहिर निकाल्ने भनेर धेरै सुझावहरू दिएको थियो । त्यो मध्ये केही कुराहरू मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सम्बोधन भएको छ । तर पर्याप्त छैन । सम्बोधन भएका विषयले चृुनौतिपूर्ण अर्थतन्त्रको वर्तमान बाहिर निस्कने अवस्था छैन ।”

अध्यक्ष ढकालले अर्थतन्त्रमा समस्या र चुनौतिहरु धेरै देखिएकाका भन्दै सम्बोधन गर्न मौद्रिक नीति पर्याप्त नभएको दाबी गरे । महासंघले दिइएका सुझावहरू सबै मौद्रिक नीतिको समिक्षामा सम्बोधन नभएको भन्दै सम्बोधन हुन बाँकी सुझावहरू आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्ने बताए ।