पुराना ब्रोकर विरुद्ध नयाँ ब्रोकर : आसय पत्रको बिरोध नगर्न चेतावनी


काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्रका लागि आसय पत्र(एलओआई) पाएका ब्रोकर कम्पनीहरूको संगठन बनेको छ ।

सागर ढकालको नेतृत्वमा आसयपत्र प्राप्त ब्रोकर कम्पनी संगठित बनेका हुन् । उनीहरूले ढकाल संयोजकत्वमा ‘न्यु स्टक ब्रोकर एसोसियसन नेपाल’ संगठन खोलेका छन् ।

एलओआई पाएका नयाँ ब्रोकरहरुले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दाबी गर्दै बिरोध नगर्न पुराना ब्रोकर कम्पनीहरूलाई चेतावनी दिएका छन् ।

स्टक ब्रोकरहरुको नयाँ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पूँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले मिति २०८०/०१/२९ गते जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरूले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ ।”

स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको भन्दै संगठनले आपत्ति जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,“यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ ।”

नयाँ कम्पनीका लगानीकर्ताहरूले नेपालको इतिहासमै पहिलो पटक समय सीमा तोकेर पारदर्शी ढंगले एक रुपैयाँ खर्च नगरी लाइसेन्सका लागि आसय पत्र वितरण भएको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरू सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरू सम्पन्न गरी कार्य अगाडि बढाएकोदेखेको र सो उपर हामीहरूले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो ।”

संगठनले यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिएको छ ।

आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइए कानूनी उपचार खोज्न बाध्य हुने नयाँ ब्रोकरहरूले चेतावनी दिएका छन् ।

नेप्सेले २०७९ सालमा गरेको अध्ययनले १७८ वटा ब्रोकर कम्पनी थप्न सकिने सम्भावना रहेको उनीहरूले स्मरण गराएका छन् ।

५६ लाख डिम्याट खाता, दोस्रो बजारका लगानीकर्ता नै २० लाख पुगिसकेको अवस्थामा ५० वटा ब्रोकरहरुले बजार धान्नै नसक्ने दाबी पनि उनीहरूको छ ।