नेपाल धितोपत्र बोर्डबाट ४३ वटा ब्रोकर कम्पनीले पाए आशयपत्र


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १४ कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) का लागि आशय पत्र (एलोआई) प्रदान गरेको छ ।

शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप १४ वटा कम्पनीलाई आशयपत्र प्रदान गरेको हो । बोर्डले १४ ब्रोकर कम्पनी मध्ये ११ वटा सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायी रहेका छन् भने बाँकी ३ वटा पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायी रहेका छन् ।

बोर्डले यसअघि २ चरणमा गरी २९ कम्पनीलाई आशयपत्र प्रदान गरिसकेको छ । यससँगै धितोपत्र दलालका लागि आशय पत्र पाउने कम्पनीको संख्या ४३ पुगेको छ । ४३ मध्ये १२ वटा वाणिज्य बैंकका सहायक कम्पनीले आशय पत्र पाएका छन् ।

सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पत्र प्राप्त गर्न बोर्डमा आवेदन दिएको इगल स्टक इक्विटी प्रालिले रितपूर्वक निवेदन नदिएकाले अनुमति पत्र जारी हुन नसक्ने देखिएको बोर्डले जनाएको छ ।

एनआईसी एसिया सेक्युरिटिज कम्पनी खारेज भइसकेको छ भने सेन्चुरी स्टक ब्रोकर लिमिटेडले निवेदन फिर्ता लिएको छ ।