प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुँदै


काठमाडौँ । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ । सुदूरपश्चिम प्रदेशको विकासको लागि भन्दै २०८० जेठ २३ गतेदेखि २५ गतेसम्म प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन गर्न लागेको हो ।

सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने जनाइएको छ । योग गुरु बाबा रामदेव, आयुर्वेद शिरोमणी बालकृष्ण आचार्य लगायतका व्यक्तित्वहरुको उपस्थिती रहने उल्लेख गरिएको छ ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बौद्ध धर्म लगायत हिन्दू धर्मसँग जोडिएका सबैलाई सम्मेलनमा जोड्ने प्रयास गरिररहेको बताए ।

उनले खप्तड, बडिमालिका, रामारोशन, बुढीनन्दा, वैद्यनाथ, त्रिपुरासुन्दरी, मालिकार्जुन, शैलेश्वरी, उग्रतारा लगायत प्रसिद्ध धार्मिक तथा आध्यात्मिक पर्यटन विकास गर्नसके सुदूरपश्चिमको आर्थिक विकासले काँचुली फेर्न सकिने उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिय तहमा खप्तड क्षेत्रको प्रचारप्रसार गरेर छिमेकी देश भारत लगायत तेस्रो मुलुकबाट पर्यटकहरुको आगमनको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिएको उनले बताएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मुल आयोजक समारोह समिति गठन गरिसकेको छ ।
मुख्यमन्त्री शाहले धार्मिक पर्यटन विकास गर्नुपर्ने मान्यता अनुसार खप्तडलाई रोजेको बताए ।