ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई युवा स्वरोजगार कोषको ३५ दिने सूचना


काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न देशभरका ७० वटा सहकारीलाई ३५ दिनभित्र बुझाउन आग्रह गरेको छ ।

बुधबार सार्वजनिक सूचना निकालेर कोषले संस्थाहरूले कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम बुझाउन आग्रह गरेको हो ।

कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्ने जनाएको छ ।

ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरण अनुसार कर्णाली प्रदेशका २८, कोशी १४, मधेस प्रदेशका ११, बाग्मतीका १०, लुम्बिनीका ४, र सुदूरपश्चिम प्रदेशका ३ वटा सहकारीहरू रहेका छन् ।