उच्च नश्लका मुर्रा राँगाले दूध उत्पादन बढाउछ: अध्यक्ष दाहाल


काठमाडौँ । भारतले दिएको १५ वटा उच्च नश्लका मुर्रा राँगाको नेपाल डेरी उद्योग संघले प्रंशसा गरेको छ ।

बुधबार डेरि उद्योग संघका अध्यक्ष राजकुमार दाहालले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागको अथक प्रयासका कारण भारत सरकारबाट प्रधानमन्त्री पुष्पकमल दाहालको जेष्ठ १७ गते देखि २० गते सम्म भएको मित्रराष्ट्र भारत भ्रमण पश्चात नेपाललाई १५ वटा उच्च नश्लका मुर्रा राँगो उपलब्ध गराउनु स्वागतयोग्य रहेको बताएका हुन् ।

उनले हाल उच्च नश्लको अभावमा दूधको उत्पादकत्व कम भएको अवस्थामा भारत सरकारबाट प्राप्त हुने राँगाहरूबाट पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन् कार्यालयहरू मार्फत आगामी ३ वर्ष पछि वार्षिक १ लाख ५० हजार डोज वीर्य उत्पादन भई आगामी ५–६ वर्षभित्र उल्लेख्य परिमाणमा दूध उत्पादन वृद्धि हुने बताए ।

संघले आगामी वर्षहरूमा दूधको अभाव हुन नदिन कृतिम गर्भधानमा उच्च नश्लको सेक्स सर्टेड (वाच्छि मात्र जन्मने) सिमेनको प्रयोग र पशुहरूमा हाल लम्पी स्किन रोग महामारी रूपमा फैलिदै गई रहेकोले सो रोक्न पशु सेवा विभाग माताहतका निकाय मार्फत अभियानकै रूपमा लम्पी स्किन रोग विरुद्ध भ्याक्सिन दिने कार्यक्रम ल्याउन समेत अनुरोध गरेको छ ।