प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको सञ्चारमन्त्री शर्माको भनाई


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएकी छन् ।

ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई आज सम्बोधन गर्दै उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरू बर्बादीको शिकार भइरहेको बताइन् ।

उनले साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढिरहेको बताइन् ।

सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको मन्त्री शर्माको भनाई थियो ।

उनले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरु भड्किरहेको बताइन् ।

मन्त्री शर्माले भनिन्,“ हामीले यो क्षेत्रको विकास सकारात्मक ढंगले गर्नुपर्छ । यस भित्रका विकृतिहरु हामी देखिरहेका छौँ । हाम्रा भर्खरका किशोरकिशोरीहरु ठिक ढंगले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका छन् ।”

मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पु¥याउन जरुरी रहेको बताइन् ।