प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन


काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको हो ।

गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो ।

अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् । विगत आठ महिनादेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।