घोराही सिमेन्टको आइपीओमा ८५ लाख कित्ताको आवेदन रद्द, सिडीएससीले दियो चेतावनी


काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इन्डस्ट्रीमा परेको ८५ लाख कित्ताभन्दा बढी कित्ताका सेयर दिइएको आवेदन रद्द भएको खुलेको छ।

घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।

हिजो साँझ ५ बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा २.४९ गुणाले बढी हो।

कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ६५ हजार १७० वटा आवेदनबाट ८५ लाख कित्ताको आवेदन ‘रिजेक्ट’ भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतले जनाएको छ ।

जसमध्ये १० लाख कित्ता आवेदन दिएका ६ वटा आवेदनबाट मात्रै ६० लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’ भएको सिडिएससीले जनाएको छ ।

अहिलेसम्म सार्वजनिक निष्कासन गरेका कम्पनीहरुमा यति ठूलो सेयर संख्यामा आवेदन ‘रिजेक्ट’ भएको नदेखिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका एक अधिकारीले बताए ।

आईपिओमा ठूलो मात्रमा झुटो आवेदन परेको पाईएपछि सिडीएस एण्ड क्लियरिङले कारबाहीको चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै आईपिओमा आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गर्नु जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी सिडीएससी ले दिएको हो।

सिडीएससीले सार्वजनिक गरेको सूचनामा ‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झूटा एवं जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐन अनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’ उल्लेख गरेको छ ।