असार २४ गतेभित्रै हिसाब राफसाफ गर्न महालेखा कार्यालयको निर्देशन


काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले असार २४ गतेभित्रै सम्पूर्ण सरकारी भुक्तानी र हिसाबकिताब राफसाफ गर्न निर्देशन दिएको छ।

महालेखाले परिपत्र जारी गर्दै आगामी असार २४ गतेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने पनि स्पष्ट पारेको छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा विषयको पत्रको बुदा नं.१ मा संघ प्रदेश र स्थानीय तहहरुको आर्थिक वर्ष समाप्त हुनुभन्दा ७ दिनअगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणालीसमेत बन्द हुने महालेखाले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

संघीय कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२) बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम (७) र (८) बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने ७ दिनअघि अर्थात् असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्न महालेखाले निर्देशन दिएको छ।