सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको छ : कार्यवाहक महासचिव ज्ञवाली


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवि जनताको उपचारमा सहज हुनेगरी ल्याएको स्वास्थ्य बीमा कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका हुन् ।

कार्यवाहक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभुत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकिर गरे ।

उनले वर्तमान सरकार श्रमिकको पक्षमा नभई पुँजीपति वर्गको पक्षमा रहेकाले उसले गरिब जनताको पक्षमा काम गर्न नसक्ने समेत बताए ।

ज्ञवालीले भने,“ हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याएका थियौं । सानातिना रोग हुँदा पनि दौडेर विदेश पुग्ने अथवा काठमाडौंमा सुविधा सम्पन्न हस्पिटलहरूमेडिसिटी होस् अथवा नर्भिक, ग्राण्डी होस् वा ह्याम्स । त्यहाँ गएर उपचार गर्ने सामथ्र्य राख्नेहरूका लागि धेरै ठूलो कुरा होइन होला । तर वर्षको ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य विमा गराएर ५ जनाको परिवारले वर्षभरी एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठूलो क्रान्ति थियो । आज स्वास्थ्य बिमा कार्यक्रमलाई समाप्त पार्ने कोशिस हुँदैछ ।”

कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हीतका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायतका कार्यक्रम ल्याएपनि वर्तमान सरकारले त्यसलाई निष्प्रभावी बनाउने काम गरेको आरोप लगाए ।