छानविनसँगै घोराही सिमेन्टको आइपीओ निष्काशन प्रक्रिया अगाडी बढाउने बोर्डको निर्णय


काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । बोर्डले आज एक विज्ञप्ती जारी गर्दै कम्पनीको छानविनसँगै आइपीओ निष्कासनको प्रक्रिया पनि अगाडी बढाउने निर्णय गरेको हो ।

बोर्डले घाराही सिमेन्टको आइपीओको बारेमा अनुसन्धान गर्न समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा ४ बुँदे निर्णय गर्दै आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाउने भएको हो ।

कम्पनीले आइपीओ जारी गरेको अन्तिम दिन बोर्डले स्थगित गरेको थियो ।

बोर्डले घोराही सिमेन्टको आईपीओका लागि आवेदन दिएका लगानीकर्ताहरुले आवेदन सच्याउन सक्ने व्यवस्था गरेको छ । सी–आस्बा प्रणालीमा दर्ता भएका आवेदकहरुको हकमा आवेदन गरेको सेयर कित्ता थपघट गर्न वा आवेदन दर्ता तथा खारेज गर्न सक्ने व्यवस्था गरेको छ।

यसका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले ३ दिनको समय दिने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ।

बाेर्डले जारी गरेकाे विज्ञप्तीमा ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १० को उपनियम (२) मा उपनियम (१) बमोजिमको अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा थप गरिएको ३ दिनको समयावधिभित्र माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा मिति जेठ ३२ गतेदेखि असार ४ गतेसम्म ५ दिन निष्काशन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनका लागि थप गरिएको ३ दिनको समयपश्चात वढीमा थप ७ दिन निष्कासन खुला राख्न सकिने व्यवस्था गर्ने’, उल्लेख गरिएकाे छ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड भई २९ करोड ४६ लाख ७८ हजार दुई सय पचास रुपैया कम्पनीको खातामा रकमान्तर भैसेकेको हुनाले उनिहरुले आइपीओमा संसोधन गर्न नपाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घोराही सिमेन्टको आइपीओमा आवेदन दिएका सर्वसाधारणहरुको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएको बोर्डले जनाएको छ ।

Skip This