सिएनआईका पदाधिकारी र रास्वपा सभापति छलफल, ‘निजी क्षेत्रलाई नीतिले संरक्षण गर्नुपर्छ’


काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच अर्थतन्त्रका विषयमा छलफल भएको छ । नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले विहीबार सभापति लामिछानेसँग छलफल गरेका हुन् ।

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताए । अर्थतन्त्र अप्ठ्यारो स्थितीमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औल्याएका थिए । उनले सबै दलहरुले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । बजेटको प्रभावकारी कार्यान्वयनका रचनात्मक सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रको तर्फबाट परिसंघले सुरु गरेको बजेट वाचका विषयमा जानकारी गराएका थिए ।

अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

भूतप्रभावि हुने गरी कर लगाउँदा स्वदेशी एवं विदेशी लगानीकर्ताबीच नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन (पेमेन्ट रिकभरी एक्ट), साथै अग्रिम जमानत कानूनको आवश्यकताका विषयमा जानकारी गराए ।

सभापति लामिछानेले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्नेमा जोड दिँदै योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने उल्लेख गरे । उनले सरकार, राजनीतिक दलहरुले गर्नुपर्ने काम परिसंघले सुरु गरेको भन्दै बजेट कार्यान्वयन मार्गचित्र ‘बजेट वाच’ का लागि धन्यवाद दिए ।